पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं, माघ ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका जिल्ला, प्रदेश, जनसंगठनलगायत सवै तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ ।

नेकपा नुवाकोटको काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील म आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन पनि गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गर्नुभयो । कतिपय नेताले साकाहारी आन्दोलन नभई मांशहारी आन्दोलनको कुरा गरी युवाहरुलाई भड्काउन खोजेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिको पक्षमा रहेको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी कसैको टाउको फुटाउन चाहँदैनौँ । हामी कसैलाई चोट नलागोस भन्ने चिताउँछौँ । हामी हिंसामा विश्वास गर्दनौं । जनतामा विश्वास गर्छाै । विगतमा लडाकूका रकममा नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनिमितता अब हुँदैन ।’ कार्यक्रममा नेकपा नुवाकोटका नेता केशव पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिनुभयो ।साभार जनता टाइम्स