विगतमा लडाकुका नामका रकम वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, माघ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो भन्नुभयो,“प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।”

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गर्नुभयो ।

कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन ।” कार्यक्रममा नेकपा नुवाकोटका नेता केशवराज पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिनुभयो ।साभार जनता टाइम्स