रौतहट २७ माघ।
रौतहट जिल्लाको दक्षिणीभेग भारतीय सीमामा संग जोडिएको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नन्दकिशोर गुप्ताले जिम्मेवारी पाएपछि विकास निर्माणका कामका साथै सुलभ तरिकाले सेवा प्रवाह सुरुभएको छ।
सामान्य प्रशासन मन्त्रालय द्वारा गत भदौ महिनामा इशनाथको प्रमुख प्रशासकीय अधिकृतको उपसचिव गुप्ताले जिम्मेवारी लिएसंगै विकास निर्माणका काम देखी सम्पूर्ण प्रशासनिक सेवा सुलभ तरिकाले प्रवाह हुन थालेको हो।
हाल नगरमा विकासका आयोजना, सामाजिक सुरक्षाभत्ता वितरण, कर्मचारी व्यवस्थापन, दैनिक ज्यालादारी तथा करार सेवामा कार्यरत कर्मचारीको तलब भुक्तानी समयमा भईरहेको अधिकृत गुप्ताले बताएका छन्।
यस अघी प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, ज्येष्ठ नागरिक भत्ता, अपांग भत्ता वितरण लगायत आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको थियो।
गुप्ता आउनु अघि ईशनाथ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत कै बिषयमा पटक पटक बिवाद हुँदैआएको थियो। गत फागुन १७ गते उनी हाजिर भएपछी निर्धारित समयमा शिक्षक कर्मचारीको तलब, विकास निर्माणको अनुगमन भूक्तानी भईरहेको ईशनाथकी मेयर कौशल्या देवीले बताईन्। मेयरका अनुसार हाल नगरभित्रका शिक्षा, स्वास्थ, कृषि, पशु सेवा लगायत वडाहरुबाट सेवाग्राहीको काम छिटोछरितो भईरहेको छ। त्यती मात्र नभई प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताको सक्रियताले तोकिएको समय भित्रै ईशनाथको हिउँदे अधिवेशन सम्पन्न भएको मेयर कौशल्या देवीले जानकारी दिएकि छिन्। रौतहटको १८ स्थानिय निकाय मध्ये अधिकांशमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बिच बिभिन्न कारणले पटक पटक बिवाद हुँदैआएको छ। तर अधिकृत गुप्ताले जनप्रतिनिधि देखी नगरवासीको चाहना अनुसार काम गर्ने गरेको कारण ईशनाथको सम्पूर्ण गतिविधिमा सुधार आएको स्थानिय सञ्चारकर्मी किशोरी यादवले बताएका छन्।
नगरक्षेत्र अन्तर्गत रहेका सामुदायिक बिद्यालयको शिक्षाको अवस्था र स्वास्थ्य संस्था बाट प्राप्त भईरहेको उपचार सेवामा अझै प्रभावकारी बनाउनु पर्ने सञ्चारकर्मी यादवले सुझाव दिएका छन्।