काठमाडौँ, १४ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (नेशनल प्याब्सन) को महाधिवेशन यही फागुन १५ र १६ गते हुने मधेस प्रदेशको वीरगञ्जमा आयोजना हुने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा आठौँ राष्ट्रिय महाधिवेशन वीरगन्ज हुनु वैधानिक हुने जिकिर गर्दै तीन पूर्व अध्यक्षहरुले पनि सहभागी हुन अपिल गर्नुभएको छ ।
आसन्न महाधिवेशनका सन्दर्भमा पूूर्व अध्यक्षहरु गीता क्षेत्री, कर्णबहादुर शाही र ऋतुराज सापकोटाले केही दिन अघि संयुक्त अपिल जारी गर्नुभएको थियो । संस्थाका अध्यक्ष पाण्डव हमाल ठकुरी र पक्षले बीरगञ्ज र अर्का एक अध्यक्ष सुवास न्यौपाने पक्षले काठमाडौँ महाधिवेशन गर्ने भनी सूचना सम्प्रेषण गरेकामा बारा जिल्ला नेशनल प्याब्सनको संयोजन र मधेश प्रदेशका आठ वटै जिल्लाको सहकार्यमा बारा जिल्लाको सिमरामा भएको केन्द्रीय पदाधिकारी तथा सदस्यबीच भएको छलफलमा आठौँ महाधिवेशनको मिति र स्थानका सम्बन्धमा निर्णय लिन आफूहरुसमेतलाई दिइएको जिम्मेवारीका आधारमा सो अपिल गरिएको जनाइएको छ ।
तीन पूर्व अध्यक्ष र अध्यक्षद्वय ठकुरी र न्यौपानेसहितको पाँँचजनालाई सिमराको बैठकले सर्वसम्मतरुपमा मिति र स्थानबारे निर्णय लिन जिम्मेवारी दिएकामा छलफलको क्रममा केन्द्रीय समिति बैठकको निर्णयको वैधानिकताको प्रश्न उठेपछि दुवै पक्षलाई प्रमाणित निर्णय पुस्तिकाको प्रतिलिपि यही फागुन १० गतेभित्र बुुझाउन समय दिइएको थियो । उक्त अवधिमा एक पक्षले कैलाली जिल्लाको धनगढीमा भएको निर्णय पुस्तिका बुझाएको र अर्काे पक्षबाट निर्णय पुस्तिकाको प्रतिलिपि प्राप्त नभएकोले केन्द्रीय समितिको धनगढीमा भएको वैधानिक साताँै बैठकले गरेको निर्णयानुसार पर्सा जिल्लाको बीरगञ्जमा यही फागुन १५ र १६ गते हुने राष्ट्रिय महाधिवेशन वैधानिक हुने ठहर तीन पूर्व अध्यक्षहरुको रहेको छ ।