चेकजाँच मोरङमा एक करोड ९ लाख बरामद

बिराटनगर, २३ बैशाख । भारतको सुपौलबाट आएको खाली ट्रकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले मोरङको रानीबाट एक करोड ९ लाख ७९ हजार ५ सय ३० भारतीय रुपैयाँ बरामद गरेको छ । बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको छन् । भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा प्रहरी र सश्त्रको संयुक्त टोलीले केहीबेर अघि कार्टुनमा राखिएको अवस्थामा उक्त रकम बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले बताए । लकडाउनको बेला सीमा नाका सिल भएपनि अत्यावश्यक वस्तुको ढुवानको नाममा उक्त ट्रक भारतबाट भित्रिएको थियो । प्रहरीले ट्रकका चालक र सह–चालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । बरामद रकम तस्करले आफ्नो धन्दा चलाउन भित्र्याएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । यसअघि रक्सौलबाट भित्रिएको इन्धनको ट्यांकरबाट र विराटनगरमै राहतको सामान वितरणका लागि रााखिएको गाडीबाट लागूऔषधसहित मानिस पक्राउ परेका थिए ।