निजगढमा कोरोना संक्रमितको संख्या शुन्य,आईसोलेसनबाट ४ जना संक्रमित डिस्चार्ज

बारा । असोज ०६ गते
बाराको निजगढमा कोरोना संक्रमितको संख्या शुन्य बनेको छ । निजगढ नगरपालिकाको आईसोलेसनबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनु भयो । गत आश्विन ४ गते संकलन गरिएको स्वाब परिक्षणमा अईसोलेसनमा रहेका ४ जना सहित ३ जनाको नतिजा मंगलबार नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख लामाले बताउनु भयो । निजगढमा जम्मा ४७ जना कोरोनाबाट संक्रमित भएका थिए भने २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । निजगढ नगरपालिकाले कोरोना नियन्त्रण र रोकथामका लागि लागु गरेको नियम र ब्यवस्थापन सफल भएका कारण निजगढमा अहिलेसम्म कोरोना नियन्त्रणको अवस्थामा रहेको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनु भयो । मेयर खनालले नगरपालिकाले जारि गरेको नियम पालनामा सम्पुर्ण नगरवासी र व्यवसायीको सहयोगको कारण नगरमा कोरोना नियन्त्रणको अवस्थामा रहेको भन्दै आभार समेत व्यक्त गर्नु भएको छ । सुरक्षाकर्मी,सरसफाईकर्मी,कर्मचारी,राजनीतिक दलका प्रतिनिधि लगायत नगरका सरोकारवालाबाट भएको सल्लाह र सहयोगले पनि कोरोना नियन्त्रण गर्न निजगढ नगरपालिका अहिलेको अवस्थासम्म सफल भएको बताउनु भयो । मेयर खनालले कोरोना भाईरस संक्रमणको जोखिम उच्च रहेकाले नगरपालिका लगायत सरोकारवाला निकायले जारि गरेको आवश्यक स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्न नगरवासी लाई आग्रह समेत गर्नु भएको छ ।