मधेशको विकास मेरो लभर कसैले अवरोध गरे नछाडने प्रचण्डको चेतावनी

आर्दशवाणी संवाददाता । बारा, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दुई नम्बर प्रदेशको समृद्धि र विकासका लागि नेकपाले घोषणा गरेका प्रतिबद्धता र संकल्प पुरा गरेरै छाडने दावी गर्नुभयो । प्रदेश नम्बर २ अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि मंगलवार निजगढमा आयोजित वृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नम्बर २ मा काठमाडौ–तराई मधेश द्रुतमार्ग, बारा अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, कोशी कमला डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण गरेरै छाडने प्रतिवद्धता व्यक्त गर्नु भयो । तराई मधेशसँग आफ्नो लभ परेको कुरा दोहोर्याउदै तराई मधेश आफ्नो लभर भएको र लभरको समृद्धिको यात्रामा कसैले अवरोध खडा गरे त्यसलाई नछाडने चेतावनी समेत दिनुभयो । यसैगरी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका कम्युनिष्टहरु फुटेर होईन जुटेर संसारलाई देखाई दिएको बताउदै अब कम्युनिष्ट सरकार समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्ने संकल्पका साथ अगाडी बढेको बताउनु भयो । उपप्रधानमन्त्री पोखरेलले प्रदेश नम्बर २ मा भ्रष्टाचार र अनियमितता बढेको सम्बन्धमा जनगुनासो आएको छ भन्नु हुदै जुन सुकै पदमा भएमा भएपनि भ्रष्टाचार र अनियमिततामा संलग्नहरुले छुटकारा नपाउने चेतावनी दिनुभयो । नेकपा प्रदेश नम्बर २ का इन्चार्ज प्रभु साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव लगायत हजारौको सँख्यामा स्थानीयहरु सहभागि रहेका थिए ।