छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं, छिमेकीहरुबाट पनि यही अपेक्षा गर्दछौं : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, फागुन १७ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि र चासोविरुद्ध कुनै गतिविधि नगर्न छिमेकी मुलुकहरुलाई आग्रह गर्नुभएको छ । विश्व मामिला परिषदको ७३ औं सभालाई आज सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने र छिमेकीबाट पनि यस्तै प्रतिबद्धता हुने बिश्वास ब्यक्त गर्नुभएको हो ।

‘छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धतामा नेपाल अडिग छ, हामी पनि छिमेकीहरुबाट यस्तै सहकार्य र प्रतिबद्धताको अपेक्षा गर्दछौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो ।
उहाँले छिमेकी र विश्वका अन्य मुलुकसँग द्धिपक्षीय तहमा मैत्रीपूर्ण सम्बन्ध कायम गर्न नेपाली प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले भारत र नेपालबीचको उच्च तहमा भएको भेटवार्ताले नागरिक तहमा सम्पर्क, सांस्कृतिक सम्बन्ध र आर्थिक साझेदारीको विकास भएको जानकारीसमेत दिनुभयो ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै मन्त्री ज्ञवालीले चीनसँग विगतमा भएको हिमालपार पारवहन सम्झौताले नयाँ आर्थिक सम्भावनाको खोजी गर्ने बताउनु भयो । नेपालका प्रमुख श्रम बजार मुलुकहरुसँग श्रम बजार, ब्यापार, पर्यटन, लगानी र नागरिक स्तरमा हुने संवादलाई समेटेर बृहत आर्थिक सम्झौता गर्न नेपाल तयार रहेको मन्त्री ज्ञवालीको भनाई थियो ।
सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपाल सबै सदस्य राष्ट्रसंघ नियमित सम्पर्कमा रहेको जानकारी दिँदै उहाँले सार्कलाई यसको उद्देश्य प्राप्तीका लागि नयाँ जोशका साथ अघि बढाउनुपर्ने खाँचो औंल्याउनु भयो ।

नेपाल सदस्यको रुपमा एसिया साझेदारी संवाद (एसीडी) र संवाद सदस्यको रुपमा सांघाइ कोअपरेसन अर्गनाइजेसनको सम्मेलनमा भाग लिन उत्साहित रहेको पनि परराष्ट्र मन्त्री ज्ञवालीको भनाई छ । मन्त्रालयका अनुसार चाँडै आयोजना हुने सगरमाथा संवाद प्लेटफर्मको माध्यमबाट नेपालले जलवायु परिवर्तनविरुद्धको नीति निर्माणमा योगदान दिने समेत उहाँको भनाई छ ।

मन्त्री ज्ञवालीले राष्ट्रिय आवश्यकतालाई ख्यालमा राख्दै राष्ट्रिय चासोका विषयलाई संरक्षण गर्नु नेपाली परराष्ट्र नीतिको उद्देश्य रहेको पनि प्रष्ट पार्नुभयो ।साभार जनता टाइम्स