‘प्रचण्डको पतनको बाटो शुरु भइसक्यो, अब झाँक्रीले पनि बचाउन सक्दैनन्’

विराटनगर, फागुन ८

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख नै झगडिया बन्दै हिड्न थालेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाले संवैधानिक पदहरु नै सरकारविरुद्ध झगडियाको रुपमा हिड्न थालेको भन्दै असन्तुष्टि जनाउनु भएको हो ।

विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झगडिया नभएको बताउदै सभामुखलाई किर्तेको संज्ञा दिदै सरकारविरुद्ध मुद्दा लिएर अदालत गएको उल्लेख गर्नुभयो । ‘सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकारविरोधी झगडिया हुन् सभामुख’, उहाले भन्नुभयो, ‘उहाँले किर्ते सनाखत गर्नुभएको छ । सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साँढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।’

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दवहादुर पुनको पछिल्लो कार्यको पनि आलोचना गर्नुभयो । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाष्णा गरेर हिडनुभएको छ । चुनाव गर्नु हुदैन भन्नुहुन्छ, उहाँको पदले त्यसो गर्न दिन्छ ? हुन त उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको तर अब त चुनावको पक्षमा बोल्न सिक्नुस’, प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रचण्डको पतनको बाटो शुरु भईसकेको बताउदै भन्नुभयो, ‘प्रचण्डजीको मलाई त माया लाग्छ, उहाँलाई पहिला वैद्यले छाड्नुभयो, अनि डाक्टर लिनुभयो, अहिले एउटा भाँक्री लिनुभएको छ, अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’ राजनीतिक सिनबाट लगभग गायब हुन लागेका प्रचण्डलाई आफूले स्थापित गरिदिएको तर त्यो उनलाई नपचेको पनि प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभएको छ । ‘राजनीतिमा सिद्धी नै सकेका प्रचण्डलाई, दुई–चार सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर ठूलो जुरो हालिदिएको थिएँ, जुरो हालिदिएपछि अनि लामो सिंह भएपछि उहाँमा अचानक अहंकार बढ्यो, षड्यन्त्रमा लाग्नुभयो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर अब उहाँको नियति असफलताबाहेक केही हुन्न, तर अझै पनि उहाँलाई म भन्न चाहन्छु– तपाईं फर्कन चाहनुहुन्छ भने नेपाली जनताको सागरमा मिसिनुस् ।’साभार जनता टाइम्स