मणी ट्रान्सफर सञ्चालमाथि गोली चलाउने तीन भारतीय सार्वजनिक

रौतहट, ३ चैत्र ।
मणी ट्रान्सफर सञ्चालक साह माथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले शनिबार सार्वजनिक गरेका छन् ।
परोहा नगरपालिका–९ स्थित बिरेन्द्र साहको २६ वर्षे छोरा नितेश साहले शिवमणी ट्रान्सफर कार्यालयमा शुक्रबार दिउँसो करिब १ बजे आर्थिक कारोबार गरी रहेको अवस्थामा बिआर ०६ सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा अज्ञात तीन जना हतियारधारी समुहले गोली चलाएर रकम लुटपात गरेका थिए ।
रकम लुटपातगरी नितेश माथि गोली प्रहारगरी भागेको सूचना प्रहरीलाई आएपछि जिल्लाका सबै नाका सिलगरी कारवाहीको प्रकृयाबाट घटना वारदातमा रहेका तीनै जना भारतीय अपराधीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनुभयो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षे मुनिफ कुमार यादव, सोही ठाउँका १८ वर्षे राजकुमार पासवान र २० वर्षे चन्द्रभान सिंह भनिने चुनुकुमार सिंह रहेका छन् ।
उनीहरुको साथबाट लोड भएको कटुवा पेस्तोल १, त्यसमा प्रयोग हुने ८ एमएमको गोली १, फाएर भएको बुलेट १, ७.६२ एमएमको अर्ध स्वचालित पेस्तोल १, त्यसैको म्याग्जिन १ र ५ राउण्ड गोली बरामद भएको छ ।
उनीहरु माथि ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँका सम्बन्धि कसुर अन्र्तगतको मुद्दा दर्तागरी थप अनुसन्धानको कार्य सुरु गरिएको सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताउनुभयो ।
यता घाईते साहलाई प्राथमिक उपचार प्रादेशिक अस्पताल गौंरमा गरी थप उपचारको लागि बिरगंज पठाइएको थियो । उहाँको आँखामा समस्या देखिएपछि शनिबार तिलगंगा आँखा अस्पताल काठमाण्डौंमा पठाइएको रौतहट प्रहरीले जनाएको छ ।