नेपाल भारत सीमा क्षेत्रमा ५ सय बढि भारतीय नागरिक अलपत्र
पर्सा, चैत १७ गते । वीरगंजसँग जोडिएको शंकराचार्य गेट अगाडी नेपाल भारत सिमा दशगजा क्षेत्रमा ५ सय भन्दा बढी भारतीय नागरिक अलपत्र परेका छन् । नेपालबाट भारत जानका लागि काठमाण्डौ लगायत देशका विभिन्न भागबाट आएका भारतीय नागरिक नेपालमा भारतबाट दैनिक आपूर्ति लगायत औद्योगिक कच्चा पदार्थ बोकेर भित्रिएका मालबाहक ट्रकका चालक तथा सहचालकहरु गरि अहिले सिमा क्षेत्रमा ५ सय भन्दा बढी भारतीय नागरिकहरु अलपत्र परेका छन् । नेपालबाट लकडाउनको समयमा लुकिछिपी सिमामा पुगेका भारतीय नागरिकहरु आफ्नो देश प्रवेश गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोकेपछि उनिहरु विगत ३÷४ दिन देखि अलपत्र परेका छन् । दशगजा क्षेत्रमा पुगेका भारतीय नागरिकलाई नेपाल तर्फ पनि फर्कन नदिएको र भारतले उनिहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएपछि विचल्लीमा परेका हुन । विचल्लीमा परेकाहरुलाई वीरगंजका उद्योग व्यवसायिहरुले खाना, पानी लगायतको प्रबन्ध मिलाएका छन् । भारत सरकार तथा सुरक्षाकर्मीबाट आक्रोशित भारतीय नागरिकहरुले आफूहरुलाई भारत सरकारले उपेक्षा गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । भारत जान नपाएकाहरुले भारत सरकारको विरोधमा नारावाजी समेत गरेका थिए ।