बाहिरबाट आएका ११ जना कोरोन्टाईनमा
बारा, चैत १७ गते । बाहिरबाट घर फिर्ता आएकामध्ये बारा जिल्लामा अहिलेसम्म ११ जनालाई स्वास्थ्य कर्मचारीको निगरानीमा राखिएको बारा प्रहरीले बताएको छ । मुलुक बाहिरबाट काम सकेर वा कोरोना भाईरसको संक्रमणबाट बच्न बारा जिल्लामा आएकाहरुलाई स्थानीयहरुले खोज तलासगरि प्रहरीलाई जानकारी दिदै कोरोन्टाईनमा राखिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । जिल्लाको कलैया अस्पतालको आईसोलेसनमा ५, सिम्रौनगढ नगरपालिकामा २, देवताल गाउँपालिकामा २ तथा पिपरपाती र आर्दशकोतवाल गाउँपालिकामा १÷१ जनागरि ११ जनालाई स्वास्थ्य कर्मचारीसँगै प्रहरीको निगरानीको कोरोन्टाईनमा राखिएको बारा प्रहरीले जनाएको छ । रौतहटमा २ जना बालिका बलात्कृत रौतहट, चैत १७ गते । लकडाउनका समयमा रौतहटमा २ जना बालिका बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला बलात्कारको घटना सार्वजनिक भएको हो । रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर नगरपालिकाकी ८ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । फतुवामा स्थानीय १८ वर्षीय नवल पासवानले छिमेककी ८ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । शनिबार राती घरबाट नजिकैको किराना पसलमा खाने तेल किन्न गइरहेकी ती बालिकालाई नियन्त्रणमा लिएर पासवानले नजिकैको गल्लीमा लगेर बलात्कार गरेको बताइएको छ । पीडा सहन नसकेर बालिका रूने र चिच्याउने गरेपछि घटनाबारे थाहा पाएका स्थानीयले पासवानलाई समातेर प्रहरीलाई बुझाएका थिए । त्यसैगरी गत चैत्र १३ गते कटहरिया नगरपालिका वडा ७ बगहीगाँउमा एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २८ वर्षीय भाग्यनारायण साह फरार भएका छन् । घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी निज शाहले छिमेकीको छोरीलाई केही काम छ भनी आफ्नो घरमा बोलाई बलात्कार गरेको आरोप लागेको छ । साहले किशोरीमाथि दिउँसै ढोका थुनेर बलात्कार गरेको र भिडियो समेत बनाएको अनुसन्धानको क्रममा खुलेको छ । साहले बलात्कारको घटनाबारे कसैलाई भनेमा भिडियो सामाजिक सञ्जालमा राखिदिने धम्की दिँदै आएको किशोरीले बताएकी छिन् । पीडितले घटनाबारे बाबुआमालाई बताएपछि घटना सार्वजनिक भएको थियो ।