फूल खेतीमा रमाउँदै वडाध्यक्ष

हेटौंडा– जनताको कामको अलवा आफ्नो बारीमा बेमौसमी फूलखेती गरी व्यवसायिक कृषकको समेत परिचय बनाएपछि हेटौंडा–१२ नम्बर वडा अध्यक्ष ललित घलानले धेरैको प्रशंसा बटुलेका छन् । फूलखेतीबाट उनले मनग्य आम्दानी पनि गरिरहेका छन् ।

गतवर्षदेखि व्यवसायिक फूल खेती सुरु गरेका घलानको बारीमा यसवर्ष पनि बेमौसमी सयपत्री फूलको ढकमक्क फुल्न थालेको छ । घलानलाई अहिले हेटौंडाका विभिन्न सभा समारोहमा फूलको माला पु¥याउन भ्याइनभ्याई छ । सभा समारोहमा फूलको माला चाहिए घलानलाई नै सम्पर्क गर्ने गर्दछन् । चैतमा सयपत्री फूलका बिरुवा रोपेका अध्यक्ष घलानको बारीमा अहिले फूल बिक्रीका लागि तयार भएको छ । गर्तवर्ष सात कठ्ठामा फूलखेती गरी दुईलाख पचास हजार आम्दानी गरेका घलानले यसपटक १० कट्ठामा फूल रोपेका छन् ।

‘अघिल्लो वर्ष सिजनकै बेला फूल खेती गरेर राम्रै आम्दानी गरेको थिएँ यसपाला पनि फूल रोपेको तीन महिना नपुग्दै तीनसय भन्दा बढी माला बेचिसकेको छु’ घलानले भने । यसवर्ष सयपत्री खेतीमा एकलाख रुपैयाँ लगानी गरेको उनले सुनाए । उनले प्रतिमाला ८० रुपैयाँदेखि एकसय रुपैयाँ मूल्य निर्धारण गरेका छन् ।

‘सयपत्री फूल दशैं तिहारमा मात्रै नभई पूजाआजा, कार्यक्रम, बिवाह ब्रतबन्ध जस्ता विभिन्न कार्यक्रमको लागि सधैं आवश्यक पर्छ । तर, हामीकहाँ व्यवसायिक फूलखेती गर्नेहरु निकै कम छन्, चाहिएको बेला भारतबाट माला ल्याउनुपर्ने बाध्यता छ, मैले चाहिँ अब सबै मौसममा फूल उत्पादन गरी बजारको आवश्यकता पूर्ति गर्ने प्रयास गरिरहेको छु ।’ उनले भने ।

उनका अनुसार रोपेको सयदेखि एकसय २० दिनमा सयपत्री तयार हुन्छ । गतवर्ष हेटौंडालगायत काठमाडौंसम्म पनि फूलको माला निर्यात गरेका घलानले यसवर्ष भने हेटौंडामा नै सबै माला खपत हुने विश्वास व्यक्त गरे । हाल घलान परिवारले दैनिक सयवटासम्म माला बिक्री गरिरहेका छन् । बुधबार विश्व वातावरण दिवसको दिनमात्रै करिब सयवटा माला खपत भएको उनले सुनाए ।