कपडासहित १५ लाख नेपाली रुपियाँ बरामद

बारा, जेठ २४ गते । भारतबाट नेपाल भित्राउँदै गरेको १५ लाख नेपाली रुपियाँ सशस्त्र प्रहरी बलले बरामद गरेको छ । सिम्रौनगढ नगरपालिका–६ अमरपुरबाट १५ लाख नेपाली रुपियाँ सहित भन्सार छलीका कपडा सशस्त्र प्रहरी बलले शनिबार विहान बरामद गरेको हो । बोरा भित्र सो रकम, पेन्टी, सेन्डो गंजी, बच्चाको कपडा र नाइटी कपडा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिनुभयो । सिम्रौनगढ नगरपालिका–६ अमरपुर नहरको बाटो नजिकै सशस्त्र प्रहरीको गस्ती टोलीलाई शनिबार विहान ४ बजे एक ब्यक्तिले देखेपछि सो बोराको पोको फालेर भागे थिए । प्रहरीले सो बोरा खोलेर हेर्दा बोरा भित्र कपडामा लुकाएको अवस्थामा हजार दरका १५ बण्डल नेपाली रुपिंयाँ फेला परेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । फेला परेको ३ सय २५ थान गंजी, पेन्टी र नाईटीको अन्दाजी बजार मुल्य ३३ हजार रुपियाँ पर्ने उहाँले बताउनुभयो ।