प्रचण्डको बचाउ गर्दा माधवले खोले आफ्नै अपराधको पोल

काठमाडौं, माघ १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट छुट्टिएर पुष्पकमल दाहाल, प्रचण्डको नेतृत्वमा अलग समुह गठन गर्नुभएका बरिष्ठ नेता माधवकुमार नेपालले जनयुद्धको बेला पनि प्रचण्डसँग आफूले सहकार्य रहष्य खोल्नुभएको छ ।

नेपाल बुद्धिजिवी संगठनको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले माओवादीबाट सयौं एमाले कार्यकर्ता मारिएको जनयुद्धकै बेला पनि आफूले प्रचण्डसँग सहकार्य नै गरेको रहष्य खोल्नुभएको हो । भेलामा सहभागी एक बुद्धिजिवीका अनुसार नेपालले प्रचण्डपथको दह्रो वकालत गर्ने क्रममा ‘अहिलेसम्म प्रचण्ड जस्तो नेता आफूले नपाएको र पञ्चायत र जनयुद्धको बेला आफ्नो दह्रो सहकार्य रहेको तथ्य खोल्नुभएको हो ।

प्रचण्डसँग पञ्चायतपछि अहिलेसम्मका सवै आन्दोलनमा मेरो सहकार्य रहेको थियो, उहाँ सवैभन्दा उत्कृष्ट नेता हो, त्यसैले मेरो र प्रचण्डसँगको सम्बन्धमा शंका नगर्नु होला,’ जनयुद्धको नाममा सयौं एमाले कार्यकर्ता मारिएको तथ्य बिर्सिउर प्रचण्डको बचाउ गर्दै नेपालले भन्नुभयो । नेता नेपालले पार्टी फुटाउनु अघि नै प्रचण्डको नेतृत्वमा कहिल्यै प्रश्न नउठाउने र जवज नउठाई जनयुद्धको गाथा गाउने लिखित प्रतिवद्धता गर्नुभएको तथ्य बाहिर आइसकेको छ ।

माओवादी जनयुद्धको बेला नेपाल एमालेको प्रमुख नेता हुनुहुन्थ्यो भने यदु गौतमदेखि सयौं एमालेका जनतामा स्थापित नेताहरु मारिनु भएको थियो । जनयुद्धमा माधवको प्रचण्डसँग सहकार्य थियो भने एमाले कार्यकर्तालाई उहाँले नै मार्न लगाउनु भएको तथ्य उजागर हुन्छ । ‘माधवले प्रचण्डलाई भगवान बनाउन खोज्दा आफू यति गम्भीर अपराधमा संलग्न भएको तथ्य बाहिर ल्याउनु भएको छ,’ नेपालको भाषण सुनेपछि कार्यक्रममै उपस्थित एक बुद्धिजीविले जनताटाइम्ससँग भने ।साभार जनता टाइम्स