च्युरा-पानी खाउँला, केटाकेटीलाई के खुवाउने ?

बारा : चैत १७ गतेको विनशाकारी हुरीले अत्याधिक क्षति पुर्‍याएकाे भरवलीया गाँउका घरवार विहीनहरुलाई शनिबार साँझदेखि अर्को आपत् आइपरेको छ ।

आइतबार साँझ हुरीले गाँउ नै तहसनहस बनाएपछि खानाका लागि भरवलीया गाँउमा आधा दर्जनभन्दा बढी स्थानमा विभिन्न संघसंस्थाले सामुहिक मेस सञ्चालन गरेका थिए ।

तिनै मेस शनिबार बन्द गरिएपछि स्थानीयलाई आपत् थपिएको हो । घर नै हुरीले उडाएका स्थानीयका लागि अब कहाँ गएर के खाने भन्ने अन्योल बढेको छ । ‘मेस बन्द भएपछि राहतमा पाएको अलिकति फुक्का च्युरा छ त्यही खाएर पानीले पेट भर्नुपर्ला,’ भरवलीयाकी अन्जुदेवी बरइ भन्छिन्, ‘मेस हुँदा खाना त बरु सजिलो नै थियो । अब च्युरा र पानी वाहेक अरु विकल्प छैन हामीसँग ।’

हुरीले ध्वस्त पारेका घरका भग्नावशेषमै भाडाकुडा, लत्ताकपडा, चुल्हो, अन्नपात सबै पुरिएर नष्ट भएपछि पीडितहरु अहिले ओत लागेर बसेका त्रिपाल र अस्थायी टेण्टमा आफैँ खाना पकाएर खानसक्ने अवस्था नरहेको बताउँछन् ।

१५ जनाको परिवार भएका बृद्ध भरवलीयाका गोपी राउत पटेललाई चाहिँ परिवारका सबै सदस्यलाई खानाको बन्दोबस्त मिलाउन झनै मुस्किल भएको छ । उनी भन्छन्, ‘भाँडाकुडा र चुल्हो पनि हावाले उडायो । हामी त जसोतसो च्युरा खाएरै रात काट्न सकिएला, बालबच्चालाई कसरी के खुवाउने !’

राहत बाँड्नेहरुले पनि खाने कुरा र त्रिपाल मात्रै बाँडेको तर खाना पकाउने भाडा वर्तन र ग्याँस चुल्हो भने अहिलेसम्म कसैले नदिएको उनको भनाइ छ । ६५ वर्षीया धुरपति देवी पटेललाई पनि आफ्नो भन्दा साना नाती नातिना भोकै होलान् कि भन्ने चिन्ताले सताएको छ । भन्छिन्, ‘म त दुई मुठ्ठी भूजा खाएर पनि अघाउँला । चारजना नाती नातिनाको पेट भुजाले भर्दैन ।’

यहाँका केही घाइते त अझै अस्पतालमा छन् । घरमा हुनेहरुलाई भने संस्थाहरुले चलाएका सामुहिक मेस हटाएपछि खानाको चिन्ता बढेको हो । आवस्यक राहत नपाएको रन्कोमा रहेका भरवलीयाबासीहरु अर्को समस्यामा गुज्रिएका छन् ।