कटहरिया नपाका उपमेयर खातुनसहित परिवारका ८ जनाको स्वाब संकलन

संजय मिश्रा
रौतहट । भदौ ३ गते
कटहरिया नगरपालिकाकी उपमेयर नुरजहां खातुनसहित ८ जनाले स्वाब संकलन गराएका छन । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहको कडा निर्देशन पछि उनीहरु आफ्नो स्वाव संकलन गर्न तयार भएका हुन् । उपमेयर लगायतले कोरोना परीक्षण गर्न नमानेको समाचार प्रकाशन प्रशारण भएपछि डिआईजी सिंहले परीक्षण गर्न आग्रह गरेका थिए । मंगलबार उनीहरुले स्वाब संकलन गराएका हुन । ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहका अनुसार नेपाल सरकारको निर्देशनअनुसार संक्रमितको परिवारका सबै मानिसको परीक्षण गर्नुपर्ने हुन्छ ।
आज दिउँसो गएको प्रहरी टोलिले चेतावनी दिएपछि उपमेयर खातुनसहित उनको परिवारका ८ जनाले स्वाब संकलन गराएको सई सिंहले बताए । समुदायमा कोरोना देखिएपछि सम्पर्कमा आएका १५७ जनाको करिब १० दिनअघि कोरोना परीक्षण भएको थियो ।
सोही रिपोर्टमा उपमेयर खातुनका श्रीमान नसरुदिन अंसारीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । लगतै अन्सारी कटहरिया माविमा निर्माण भएको आईसोलेसनमा बसिरहेका छन् । तर उपमेयर नुरजहाँ खातुनसहित उनको परिवारका अन्य सदस्यले भने आफुहरुमा कोरोना भाईरसको कुनै लक्षण नभएको भन्दै स्वाब दिन मानेका थिएनन । यसअघि स्वाब संकलनबारे कुरो गर्न गएका स्वास्थ कर्मचारी लाई उपमेयर खातुन ले गालिगलौज गरेर फर्काएको कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाले बताए ।