बारा, २१ फागुन ।
हुण्डी कारोबारमा संग्लन रहेकोे आरोपमा प्रहरीले २१ लाख नगदसहित ५ जना पक्राउ गरी सार्वजनिक गरेका छन् ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाँको छोरा सोहीठाउँ–४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेको ३१ वर्षीय कलामुदिन अंसारी, महागढीमाइ नगरपालिका–१ बस्ने जलिल मियाँ अंसारीको ३९ वर्षीय छोरा मेराजुल हक अंसारी रहेको बारा प्रहरीले जनाएको छ ।
यसैगरी भारतको बिहार राज्य मोतिहारी जिल्ला आदापुर थाना हरपुर पञ्चायत नायकाटोला बस्ने शम्भु साहको २९ वर्षीय छोरा रञ्जित सरार्फ, सोही ठाउँ श्यामपुर टोल बस्ने ४२ वर्षीय कृष्णालाल प्रसाद र अरेराज बस्ने ४० वर्षीय रविशङ्कर सिंह रहेको बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले बताए ।
फागुन १८ गते रञ्जितलाइ प्रदेश अस्पताल नजिकैबाट नगद ५ लाखसहित पक्राउ गरी अनुसन्धान सुरु गरेको तथा अन्य चार जनालाइ आइतबार बेलुकी ४ बजे बिश्रामपुर गाउपालिका–१ छतवाबाट पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरु बि.आर.०५ ए.आर. ३५०९ नम्बरको भारतीय मोटरसाइकलबाट नेपाल आएपछि चेकजाँच गर्दा १६ लाख ९ हजार बरामद भएको थियो ।
यसरी पक्राउ परेका माथि बैंक तथा बित्तिय संस्था सम्बन्धि कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी आवश्यक प्रकृया सुरु गरिएको प्रहरी नायब उपरीक्षक (डि.एसपी) दधिराम न्योपानेले बताए । साथै उनीहरु माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको छ ।
नक्कली नोट कारोबारमा कानुनी व्यवस्था अनुसार १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको कानुन व्यवसायी शिवनाथ प्रसाद यादवले बताए ।