प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन ः तीन मन्त्रीको शपथ

काठमाण्डौं २१ फागुन ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवनमा सोमबार आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीहरुको पनि उपस्थिति थियो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन गरेको हो । नव नियुक्त मन्त्रीले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
२०७९ पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बनेपछि १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको छ। २०७९ को पुसदेखि चैतसम्म सात पटक मन्त्रीको जिम्मेवारी फेरबदल भएको छ । यसैगरी २०८० सालको वैशाखदेखि फागुन २१ गते सोमबारसम्म ६ गरेर १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको हो।
२०७९ पुस ११ गते गठन भएको मन्त्रिपरिषद् माघ ३, १४, २३, फागुन १४ र १६, चैतको १७ गते विस्तार भएको थियो। त्यसैगरी २०८० साल वैशाख ३, २१, २४ जेठ ९ गते फेरबदल भएको मन्त्रिपरिषद्ले जेठ १० गते पूर्णता पाएको थियो।

नयाँ मन्त्रीहरु क्रमशः
नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङ बुवा माइते तामाङ र आमा श्रीमाया तामाङका सुपुत्र हुन् । उनको जन्म २०२० जेठ १५ गते नुवाकोटमा भएको हो । २०३७ सालदेखि राजनीतिमा सक्रिय उनी २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनितिकमा आएका थिए ।
तामाङ यसअघि २०६६ सालमा युवा तथा खेलकुद मन्त्री बनेको अनुभव छ। २०७४ मा प्रतिनिधि सभा सदस्य बनेका उनी २०७९ सालमा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । एसएलसीसम्मको औपचारिक शिक्षा आर्जन गरेका उनी शिक्षा, भौतिक पूर्वाधार र पर्यटन क्षेत्र सम्बन्धी विशेष ज्ञान रहेको छ।

एमाले युवा नेता पदम गिरी
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी बुवा बले गिरी र माता सिताकुमारी गिरीका सुपुत्र हुन् । उनको जन्म २०३३ साल फागुन २८ गते पर्वतमा भएको हो। २०४७ सालमा अनेरास्ववियुको विद्यालय कमिटीबाट आएका तथा २०७४ सालमा पर्वतको काफलचौरु माविबाट अनेरास्ववियुमा संगठित भएका हुन् ।
२०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा स्ववियु सदस्य त्यसपछि उनले स्ववियुको उपसभापति हुँदै सभापतिको जिम्मेवारी सम्हाल्दै क्याम्पसको राजनीति हुँदै नेकपा जिल्ला कमिटी पर्वतको सदस्य, जिल्ला कमिटी अध्यक्षसमेत बनेका हुन् । २०७४ सालको निर्वाचनमा उनी पहिलो पटक संघीय संसदमा निर्वाचित भएको थियो । २०७९ सालको निर्वाचनमा उनी पर्वत क्षेत्र नम्बर १ बाट निर्वाचित भएर स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गरेको अनुभव छ। स्नातकोत्तर तहसम्मको अध्ययन गरेका नेता गिरी एमालेभित्र प्रभावशाली युवा नेताको रुपमा परिचित स्थान बनाएका ब्यक्ति हुन्। पार्टी केन्द्रीय सदस्य गिरी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक पनि हुन् ।

रास्वपा उपसभापति डोलप्रसाद अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोरप्रसाद अर्याल बुवा यामराज अर्याल र आमा गुणमाया अर्यालका सुपुत्र हुन् । उनको जन्म २०३१ साल भदौ ६ गते धादिङमा भएको हो। राजनीतिमा सक्रिय भएको छोटो अनुभव भए पनि उनीसँग प्रधानमन्त्री पुष्पकमल दाहालकै मन्त्रिपरिषदमा रहेर काम गरेको अनुभव छ। उनले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेर काम गरि सकेका ब्यक्ति हुन् । उनी पर्यटन र विप्रेषण क्षेत्रमा दुई दशकदेखि काम गरेको अनुभव छ।