मकवानपुरका चार पत्रकार प्रेस युनियनमा आवद्ध

हेटौंडा–मकवानपुरमा क्रियाशील चार जना पत्रकार नेपाल प्रेस युनियन मकवानपुरमा औपचारिक रुपमा आवद्ध भएका छन् । आइतबार एक कार्यक्रमकाबीच उनीहरुलाई प्रेस युनियनमा स्वागत गरिएको हो ।

स्वागत तथा बधाई कार्यक्रमकाबीच प्रेस युनियनले शक्ति एफएममा कार्यरत अभिषेक ढकाल, सागर सापकोटा, तु खबर डटकममा कार्यरत सम्झना मगर र रेडियो आकाशगंगामा कार्यरत गणेश दुलाललाई स्वागत गरेको हो । उनीहरुलाई प्रेस युनियनका ३ नम्बर प्रदेश संयोजक राममणि दाहाल, निवर्तमान अध्यक्ष रुपेश दुलाल, पूर्व अध्यक्ष गोकर्ण सुवेदी, नेपाली काँग्रेसका उपसभापति विष्णु लामिछाने, पार्टी प्रवक्ता प्रदिप कोईराला, नगर सभापति आनन्दराम पराजुली लगायतले स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति एवं कार्यक्रमका प्रमुख अतिथि विष्णु लामिछानेले युनियनमा आवद्ध पत्रकाहरुलाई निष्पक्ष पत्रकारिता क्रियाशील हुन शुभकामना दिए । उनले प्रेस युनियन नेपाली काँग्रेसको शुुभेच्छुक संगठन भएकाले पार्टीको पक्षमा मात्र समाचार लेख्नुपर्ने बाध्यता नरहेको भन्दै गल्ती कमी कमजोरीलाई पनि औंल्याउन छुट रहेको स्पष्ट पारे । त्यसैगरी कार्यक्रम आयोजक समितिका संयोजक एवं संगठन विभाग प्रमुख बलराम पुडासैनीले स्वागत मन्तव्य राख्दै संगठन विस्तारमा आफू डटेर लाग्ने बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरको सदस्यता प्राप्त गर्न सफल प्रेस युनियनका २ दर्जनभन्दा बढी सदस्यहरुलाई खादा लगाएर स्वागत एवम् सम्मान गरिएको थियो । प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्टराज) को सभाध्यक्षतामा कार्यक्रम
भएको थियो ।