पर्सामा ‘सीएमए मात्रै पढेका बिरामीको उपचार गरेको अवस्थामा नक्कली डाक्टर पक्राउ

असोज २६ गते
प्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेली पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई दुई दिन अघि असोज २३ गते नै पक्राउ गरेको भएपनि आज सोमबार सार्वजनिक गरेको छ । वीरगञ्ज–२ छपकैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा कार्यरत उनले डाक्टर शिवशंकर यादवको नाममा आफैंले बिरामीहरुको चेकजाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड समेत गर्ने गरेको उजुरी प्रहरीेमा आएको थियो ।
डाक्टरको नाममा प्रयोग गरेर आफैंले बिरामी चेकजाँच गरेर बिरामी र आफन्तलाई ठग्ने गरेको गुनासो आएपछि नारदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।
‘सीएमए मात्रै पढेका उनले डाक्टरको नाममा सबै काम आफैंले गर्दै आएका रहेछन् ,’ उनले भने, ‘गुनासो आएपछि पक्राउ गरेर ल्याएका छौं । कारबाही प्रक्रिया अघि बढेको छ ।’
उनी विरुद्ध मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरिएको छ । अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद दिएको प्रहरीले जनाएको छ । सभार अनलाईन खबर