प्रदेश ३ मा आय असमानता बढी, दीगो विकास लक्ष्य प्राप्तिमा घातक

हेटौंडा–मुलुकका सात प्रदेशहरुमध्ये सबैभन्दा धनी रहेको प्रदेश ३ मा आयमा असमानताको दर पनि धेरै रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । आयमा धेरै असमानता हुदा दीगो विकासको लक्ष्यमा असर पार्ने भन्दै विज्ञले असमानता घटाउन जुट्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
भर्खरै विश्लेषण गरिएको तथ्याङ्कअनुसार प्रदेश ३ को आयमा असमानता दर ३५ दशमलव ३ प्रतिशत रहेको छ । जुन राष्ट्रिय तथ्याङ्कभन्दा २ दशमलव ५ प्रतिशतले बढी हो । आयको असमानता दर मुलुकमा ३२ दशमलव ८ प्रतिशत छ । सन् २०३० सम्ममा २३ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरिएको छ ।

दीगो विकासका लक्ष्यहरु र प्रदेशको वर्तमान अवस्थाको बारेमा प्रदेश ३ को नीति तथा योजना आयोगले आइतबार हेटौंडामा गरेको अन्तरक्रियामा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार अधिकांश सूचकांकमा प्रदेश ३ अगाडि रहेको छ । दीगो विकासका लक्ष्यहरु र प्रदेशको अवस्थाको बारेमा तथ्याङ्क प्रस्तुत गर्दै प्रा. डा. पिताम्बर शर्माले आयमा असमानता बढी हुँदा विकासमा बाधा पुग्ने बताए ।

दीगो विकासका लक्ष्य प्राप्तिको लागि प्रदेशको वर्तमान आयमा असमानताको दर घटाउनु आवश्यकता रहेको शर्माको भनाइ थियो । स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले दीगो विकास लक्ष्य प्राप्तिमा केन्द्रित भएर कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनले सुझाव दिएका थिए । हरेक सरकारले बजेट तथा अन्य नीति बनाउँदा दीगो विकास लक्ष्यलाई आधार बनाउनुपर्ने उनको भनाइ थियो ।

अरु प्रदेशको तुलनामा प्रदेश ३ मा बेरोजगारी दर निकै न्युन रहेको शर्माले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ । प्रदेशभर ७ दशमलव २ प्रतिशत मात्र बेरोजगार रहेको तथ्याङ्कले देखाएको छ । ३२ दशमलव ७ प्रतिशत रोजगार रहेको प्रदेशमा ३५ दशमलव २ प्रतिशत श्रम क्षेत्रमा आबद्ध छन् । प्रदेश ३ को रोजगारीमा ठूला उद्योगहरुको योगदान १५ दशमलव २ प्रतिशत रहेको छ भने अर्धबेरोजगार २५ दशमलव ७ प्रतिशत रहेको शर्माले प्रस्तुत गरेको तथ्याङ्कले देखाएको छ ।

प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान व्यापार क्षेत्रको रहेको छ । व्यापार क्षेत्रले पनि २२ प्रतिशत योगदान गरिरहेको देखिएको छ भने घरजग्गा कारोबार योगदान २० प्रतिशत रहेको छ । कृषिको योगदान १२ प्रतिशत रहेको छ । वित्तीय क्षेत्रको योगदान ११ प्रतिशत रहेकोमा उद्योग क्षेत्रको योगदान भने निकै कम रहेको छ ।

उद्येगले ५ प्रतिशत मात्र योगदान गर्न सकेको देखिएको छ । अन्य प्रदेशको तुलनामा प्रदेश ३ मा सम्पत्तिमा महिलाको स्वामित्व दर भने सबैभन्दा बढी छ । प्रदेश ३ मा २४ प्रतिशत महिलाको सम्पतिमा स्वामित्व रहेको छ । साक्षरता दरमा पनि प्रदेश ३ अगाडि देखिन्छ । १५ वर्षदेखि २४ वर्ष उमेर समूहको महिलाहरुको साक्षरता दर ९४ दशमलव ६ प्रतिशत छ भने सोही उमेर समूहको पुरुषको साक्षरता प्रतिशत ९७ दशमलव ७ प्रतिशत रहेको छ । १५–४९ वर्ष उमेर समूहको महिला साक्षरता दर ८२ प्रतिशत हुँदा ोही उमेर समूहको पुरुष साक्षरता दर ९४ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।