प्रदेश मन्त्रालय सचिवबिहीन, तीन हप्ता अघि खटाइएका सचिव गायब

हेटौंडा–बजेट कार्यान्वयनको चटारो र नयाँ बजेट बनाउने बेला प्रदेश ३ का दुई मन्त्रालय सचिवबिहीन रहेका छन् । प्रदेशको आर्थिक मामिला मन्त्रालयमा करिब एक महिनादेखि सचिव छैनन् भने केही हप्ताअघिदेखि सामाजिक विकास मन्त्रालयको सचिवको कार्यकक्षमा ताला लागेको छ ।

प्रशासनतर्फका सहसचिव एवम् प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको बढुवा भएपछि गत चैत १२ गतेदेखि मन्त्रालयमा सचिव छैनन् । सचिवमा बढुवा भएका भण्डारी कर्णाली प्रदेशको प्रमुख सचिवको रुपमा खटिएका छन् । आर्थिक मामिला मन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालयमा सचिवबिहीन हुँदा पनि सचिव आएका छैनन् । सामान्य प्रशासन मन्त्रालयले बालकृष्ण घिमिरेलाई गत चैत २४ गते नै प्रदेशको आर्थिक मामिला मन्त्रालयमा खटाएको भए पनि हालसम्म उनको अत्तोपत्तो छैन ।

सचिव नहुँदा मन्त्रालयको काम कारबाही प्रभावित भइरहेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल बताउँछन् । ‘कर्मचारी ल्याउने, पठाउने जिम्मा प्रदेशको हातमा छैन, हामीले सामान्य प्रशासन मन्त्रालयमा सचिव पदपूर्तिको लागि आग्रह गरेका छौं, अहिलेसम्म सचिव आइपुगेका छैनन् ।

बजेट बनाउने बेला मन्त्रालयमा काम लथालिङ्ग छ ।’ मन्त्री ढुङ्गेलले भने । मन्त्री नहुँदा कर्मचारी परिचालनमा पनि समस्या भइरहेको ढुङ्गेलले बताए । मन्त्रालयमा सचिवले हस्ताक्षर गर्नुपर्ने थुप्रै फाइल अड्किएको मन्त्री ढुङ्गेलको भनाइ छ । अहिले मन्त्रालयमा घनश्याम पन्थीले निमित्त सचिवको जिम्मेवारी लिइरहेका छन् ।

त्यस्तै मन्त्री र सचिवको कुरो नमिल्दा प्रदेशको सामाजिक विकास मन्त्रालयमा पनि केही हप्तादेखि सचिवको कार्यकक्ष खाली छ । सामाजिक विकास मन्त्री युवराज दुलाल र सचिव लोकनाथ पौडेलबीच काम गर्ने शैलीका बारेमा विवाद हुँदा मन्त्रीले सचिवल ाई निकालेर उनको कार्यकक्षमा ताला लगाएपछि सचिव निस्किएका थिए ।

सचिव पौडेल मन्त्रालय छोडेर हिँडेपछि फर्किएका छैनन् नयाँ सचिव ल्याउने पनि टुङ्गो छैन । अहिले सामाजिक विकास मन्त्रालय निमित्तको भरमा चलिरहेको छ ।