न्यौपानेले हेरे एकसय २५ जना आमाको मुख

हेटौंडा– हेटौंडा–१० का युवा नेता सन्तोष न्यौपानेले मातातीर्थ औंशीको सन्दर्भ पारेर एकसय २५ जना आमाहरुलाई सम्मान गरेका छन् ।

शुक्रबार भुटनदेवी मन्दिर परिसरमा एकसय २५ जना वृद्धाहरुलाई साडी, धोती तथा मिठाई उहारस्वरुप न्यौपानेले प्रदान गरेका हुन् । समाजमा पछिल्लो समय वृद्धाश्रमा तथा आश्रम खुल्ने क्रम बढेको र आमाहरुको सम्मान हुन छाडेकोभन्दै आफूले सानो सहयोग उपलब्ध गराएको बताए ।

‘सबै आमाप्रति समाजले हेर्ने दृष्टिकोण सकारत्मक हुनुपर्छ भन्ने मेरो धारणा हो । हामीले अग्रजको सम्मान गर्नुपर्छ । उहाँहरुसँग भएको अनुभवलाई प्रयोग गर्नुपर्छ । बृद्धाश्रममा लगेर आमाबुबा छाड्ने प्रवृत्तिको अन्त्य गर्नका लागि अभियानस्वरुप पहिलो पाइला चालेको हुँ ।’, न्यौपानेले भने ।

कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, ३ नम्बर प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुर सचिव प्रेमबहादुर पुलामी छिन्तु तथा मानव अधिकारवादी राजन मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । न्यौपानेले प्रत्येक वर्ष आफूले यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।