पत्रकार अगुवा भन्छन् : जनताको आवाज थुन्न खोजियो’

हेटौंडा–संघीय तथा प्रदेश सरकारले तयार पारेको विभिन्न कानुनहरुमा सञ्चार जगतलाई संकुचित घेराभित्र राख्न खोजिएको भन्दै त्यसको विरुद्ध जनस्तरबाटै आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । लोकतन्त्रमा जनताको आवाजलाई थुन्न खोजिएको भन्दै त्यसलाई तोड्दै अघि बढ्नुपर्ने बताइएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले शुक्रबार हेटौंडामा आयोजना गरेको प्रभातफेरीपछि आयोजित सभामा बोल्ने वक्ताहरुले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा धरपकड गर्नेलगायतका काम निन्दनीय रहेको बताए ।

सभामा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहालले लोकतन्त्र र पुर्ण प्रेस स्वतन्त्रताका लागि पत्रकारहरुले डटेर आवाज उठाउनुपर्नेमा जोड दिए । प्रेस जगत स्वतन्त्र नभएसम्म जनताको अधिकार पनि प्राप्त नहुने उनको भनाइ थियो । पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारुमगरले गलत कामकोविरुद्ध औंला उठाउने अधिकार पत्रकारले पाउनुपर्नेमा जोड दिए । सरकारले बनाएको कानुनमा समाचार लेखेकै आधारमा इजाजत खारेज तथा पत्रकारलाई जेल हाल्नेसम्मका व्यवस्था हुनु निन्दनीय भएको उनको भनाइ थियो ।

महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले दलका नेता, कार्यकर्ता र सरकारमा बसेकालाई लोकतन्त्र आए पनि पत्रकारका निम्ती लोकतन्त्र आइसकेको बताए । ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’भन्ने नाराका साथ हेटौंडामा पनि विश्व प्रेस स्वतन्त्रतादिवस मनाइएकोे हो ।

प्रत्येक वर्ष मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवसलाई नेपाल पत्रकार महासंघले विविध कार्यक्रमसहित देशभर मनाउने निर्णय गरेअनुसार पत्रकार महासंघ मकवानपुर शाखाले प्रभातफेरी गरेको हो । हेटौंडाको सिमाचाकबाट निकालिएको प्रभातफेरी बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग बाणिज्य संघ हुँदै पुनः सिमाचोकमा आएर कोण सभामा परिणत भएको थियो ।