चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु, एक घाइते

हेटौंडा– मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शुक्रबार दिउासो हावाहुरी र बर्षासँँगै परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिकामा एक महिलाको मृत्यु भएको हो भने मनहरी गाउँपालिकाकी एक महिला घाइते भएकी हुन् । गढी गाउँपालिकाको वडा नम्बर ५ देउरालीमा चट्याङ पर्दा २७ बर्षीया फुलमाया पाख्रिनको मृत्यु भएको हो ।

घरमै बसिरहेको बेला परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ५ का अध्यक्ष जितबहादुर घिमिरेले बताए । त्यसैगरी मनहरी गाउँपालिका वडा नम्बर ३ मा चट्याङ पर्दा बाख्रा चराउन गएकी ५० बर्षीया बृन्दा मोक्तान घाईते भएकी छिन् । उनलाई उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको छ ।