जाडो, शीतलहरका कारण जनजीवन थप कष्टकर बन्दै

रौतहट, माघ ३ गते ।
कठ्याग्रिदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सा लगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
आज बिहानैदेखि चलेको शीतलहर र कठ्याग्रिदो जाडोले विहान मानिसहरुलाई हिँड्डुल गर्न समेत समस्या भएको थियो । बाक्लो हुस्सुको कारण सवारीसाधनहरुलाई आवतजावत गर्न समेत समस्या भएको छ ।
एक्कासि बाक्लो हुस्सु लागेपछि सवारीसाधन चलाउन चालकहरुलाई समेत समस्या भएको छ । शीतलहरसँगै बढ्दै गएको चिसोका कारण विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाहरुको स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु देखिएको गौर अस्पतालका डा.कृष्णा साहले बताउनु भयो ।
कोरोना संक्रमणसँगै चिसोका कारण निमोनिया र कोल्ड डायरियाका विरामीहरुको संख्या बढन सक्ने हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन तथा तातो झोलिलो पदार्थ सेवन गर्न, सकेसम्म घरबाट बाहिर ननिस्कन उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
बाक्लो हुस्सुका कारण विहान र रातको समयमा गौर, चन्द्रपुर, कलैया, बीरगंज भित्रिने तथा बाहिरिने सवारी साधनका चालक तथा यात्रुहरुलाई समस्या भएको छ । बाक्लो हुस्सुका कारण बाटो समेत ढाकिने हुँदा सम्भावित दुर्घटनाबाट बाँच्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गाडीको बत्ती बालेर आवतजावत गर्न चालकहरुलाई आग्रह गरेको छ ।
साथै चिसोका कारण विद्यालय तथा कलेजको पठनपाठन समेत प्रभावित भएको छ । कोरोना संक्रमणको कारण झण्डै ८ महिना पछि खुलेका विद्यालय तथा कलेजहरुमा जाडोको कारण विद्यार्थीहरुको संख्या न्यून रहेको स्थानीय विद्यालय तथा कलेजका प्रधानाध्यापकहरुले जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंंको सबैभन्दा नजिक रहेको सिमरा विमानस्थलका उडानहरु समेत बाक्लो हुस्सुका कारण प्रभावित भएका छन् । कुहिरो लागेको कारण पटकपटकगरी विहानका केही उडानहरु ढिलो हुने गरेको नेपाल नागरिक उड्यान प्राधिकरण सिमरा बाराका कन्ट्रोलर तथा उपप्रबन्धक सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।
यता जाडो बढेसँगै जिल्ला विपद् व्यवस्थापन केन्द्रले स्थानिय पालिकाको समन्वयमा नगरपालिका र गाउँपालिकाका विभिन्न चोकहरुमा आगो बाल्ने व्यवस्था मिलाएको तथा ७० बर्ष भन्दा माथिका विपन्न वर्गका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने तयारी थालिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनुभयो ।
जाडो बढेसँगै रौतहट, बारा, पर्साका ग्रामिण क्षेत्रहरुमा चोक गल्लीहरुमा आगो तथा घुर बालेर ताप्नेहरुको संख्या बढदै गएको छ । स्थानीय वासिन्दाले तत्काल दाउराको व्यवस्था गर्न सम्बन्धित पालिका तथा प्रशासनसँग नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरीले आग्रह गरेका छन् ।