प्रहरीलाई बिवादमा तान्ने यी ८ इन्काउन्टर

विगतमा भएका विवादास्पद ‘इन्काउन्टर’ घटनाको छानबिन नहुँदा अत्यधिक बल प्रयोगतर्फ प्रहरीको मनोबल बढ्दै गएको छ । पछिल्लो चार वर्षयता प्रहरीसँग मुठभेडमा मृत्यु भएका कुनै पनि घटनामा प्रहरीमाथि विस्तृत छानबिन र कारबाही हुन सकेको छैन । बिहीबार मात्र प्रहरीसँगको ‘मुठभेड’ मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिए । जुन घटनामा पनि प्रहरी विवादमा परेको छ ।



मुठभेडमा उनको मृत्यु भएको मानिए पनि दोहोरो भिडन्त भएको कुनै संकेत फेला परेको छैन । नियन्त्रणमा लिएर पौडेललाई गोली हानिएको आशंका गरिएको छ ।

मृतकका आफन्तले पक्राउ गरेर उनलाई गोली हानिएको आरोप लगाएका छन् । कुमारलाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेकाले निष्पक्ष छानबिन गर्नुपर्ने मृतकका बुबा खिलराज पौडेलले माग गरेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

छानबिन अलपत्र
विगतमा पनि प्रहरीबाट धेरैवटा विवादास्पद इन्काउन्टरका घटना भएका छन् । तर, त्यसको छानबिन मानवअधिकार आयोगभित्रै अलपत्र परेको छ । प्रहरीको दबाब र प्रभावका कारण आयोगले गम्भीरताका साथ अनुसन्धान नगरेको स्रोत बताउँछ।
घटना १
गत ७ जेठमा मात्र सो विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरे भोजपुरमा प्रहरीको गोलीबाट मारिएका थिए । त्यसपछि सो समूहले प्रतिशोधस्वरूप थप हिंसा चर्काएको थियो । सो घटनाको पनि आयोगले गम्भीरताका साथ छानबिन गरेको छैन ।
घटना २
बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत वर्ष २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । ठिमीस्थित डेराबाट पक्राउ गरी जंगलमा लगेर उनलाई गोली हानिएको भन्दै आयोगमा उजुरी परेको थियो । आयोगले विशेष टिम बनाएर छानबिन गरे पनि हालसम्म यस सम्बन्धमा कुनै निर्णय गरेको छैन ।
घटना ३
गुन्डागर्दी गरेको आरोपमा दिनेश अधिकारी ‘चरी’ र कुमार घैँटे भनिने कुमार श्रेष्ठसमेत प्रहरी गोलीबाट मारिएका थिए । दुवै घटनाको आयोगमा उजुरी परेको थियो । तर, ब्यालेस्टिक विज्ञ नभेटिएको बहानामा सो घटनाको छानबिन पनि आयोगले निष्कर्षमा पु¥याएन ।
घटना ४
गत माघमा सप्तरीको रूपनीमा प्रहरी गोलीबाट दीपेन्द्र चौधरी मारिएका थिए । उनी पेसेवर अपराधी भएकाले घटनाको खासै विरोध भएन, प्रहरीले आन्तरिक छानबिन पनि गरेन ।
घटना ५
गत २९ पुसमा रूपन्देहीमा प्रहरी गोलीबाट केदार सहनी मारिएका थिए । सिद्धार्थनगर नगरपालिका–४ मा प्रहरीसँग उनको दोहोरो भिडन्त भएको थियो । सो घटना पनि शंकास्पद थियो । तर, प्रहरीले यसबारेमा चासो देखाएको छैन ।
घटना ६
गत वर्ष मनोज पुन र सोमबहादुर आले पनि रूपन्देहीमा प्रहरीको गोलीबाट मारिएका थिए । उनीहरूलाई भारतबाट पक्राउ गरेर ल्याई गोली हानिएको परिवारले दाबी गरी मानवअधिकार आयोगमा उजुरी गरेका थिए । त्यो उजुरी पनि आयोगमा अलपत्रकै अवस्थामा छ ।
घटना ७
गत माघमै गोंगबुको एक गेस्ट हाउसमा काभ्रेका अविनाश लामालाई गोली हानियो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोली हानेको हो । यस विषयमा आयोगमा उजुरी परे पनि केही कारबाही भएन ।
घटना ८
दुई साताअघि मात्र कास्की प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोविन्द थापामाथि गोली चलाएको थियो । सो घटनामा पनि प्रहरीले पक्राउ गरेर गोली हानिएको दाबी थापा परिवारले गरे, तर प्रहरीले कुनै चासो देखाएन।