थाहानगरका मेयरप्रति बिडारीको असन्तुष्टी

हेटौंडा–मकवानपुरको थाहा नगरपालिका स्थानीय निवासी राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले थाहा नगरपालिकाका मेयरप्रति असन्तुष्टी व्यक्त गरेका छन् । उनले रुपचन्द्र विष्टको थाहा आन्दोलनको नामबाट नागरपालिकाको नाम ‘थाहा’ राखिए पनि त्यसको मर्मअनुसार जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै रोष प्रकट गरे । रुपचन्द्रको स्मृति दिवसमा थाहा नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने सुझाव दिए पनि बेवास्ता गरिएको उनको भनाइ थियो ।

बिहीबार भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसीफाँट माविमा बिहीबार जनमुखी नेता रुपचन्द्र विष्टको २० औं स्मृति दिवसमा आयोजित अन्तरक्रिया तथा कविता बाचन कार्यक्रममा बोल्दै बिडारीले थाहा नगरका मेयरलगायत जनप्रतिनिधिले जनताको पक्षमा काम गर्न नसकेको भन्दै पुरानै परिपाटीबाट काम गर्दा जनताले परिवर्तनको महसुस गर्न नपाएको बताए ।

‘रुपचन्द्रकै अभियानको नामबाट राखिएको ‘थाहा’ नगरपालिकामा रुपचन्द्रकै अपमान भएको छ, सार्वजनिक सम्पतिको सुरक्षा गर्न पनि जनप्रतिनिधिले चासो देखाएनन् ।’ बिडारीले भने–‘थाहा नगरको विकास र जनताको हितका लागि काम हुन सकेन ।’ थाहा नगरमा रुपचन्द्रको स्मृतिमा स्थापित भवनको संरक्षणमा समेत नगरपालिकाले चासो नदेखाएप्रति उनले आश्चार्य प्रकट गरे । जनताको हितका लागि रुपचन्द्र विष्टको बाटोमा हिँड््न उनले सुुझाव दिए ।

थाहा नगरमा जथाभावी घर निर्माणको क्रम चलिरहँदासमेत थाहा नगरपालिकाले व्यवस्थित गर्न चासो नदिएको भन्दै उनले आपत्ति जनाए । कार्यक्रममा बिडारीले सहभागीलाई रुपचन्द्रको जीवनशैली र उनको जनताप्रतिको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा मकवानपुर तथा काठमाडौंका एक दर्जनभन्दा बढी साहित्यकारहरुले प्रगतिशील कविता सुनाएका थिए । कार्यक्रममा कवि स्नेह सायमी, निमेष निखिल, अप्सरा तिम्सिना, पुरुषोत्तम आचार्य, सुमनराज श्रेष्ठ, मुक्तान थेवा, शान्तिप्रिय बन्दना, सुवास खनाल, बिरप्रसाद भन्सारी, केशव समर्पण, सिएम रिमाल, भावना सापकोटा, सविता तिमल्सिना, छवि अनित्य, उमाकान्त आचार्यलगायतले रचना बाचन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।