कोरोना सम्बन्धि विवाद हुँदा रौतहटमा १२ राउण्ड हवाई फायर

रौतहट, १६ जेठ । कोरोना सम्बन्धि दुई पक्ष बिच विवाद हुँदा त्यसलाई नियन्त्रणगर्न प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । कोरोना १९ भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान लाग्दा प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि इशनाथ नगरपालिकामा प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको थियो । दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए । सो क्रममा प्रहरीले अवस्थालाई काबुमा राख्न झण्डै १ दर्जन हवाई फायर गरेको थियो ।