स्थानीय तहले आईसोलेसन कक्ष बनाउने निर्णय

बारा, जेठ १६ गते । जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्लाको १६ वटै स्थानीय तहले अनिर्वाय आईसोलेसन कक्ष बनाउने छन् । जिल्ला प्रशासन कार्यालय बारामा शुक्रबार सम्पन्न विपद व्यवस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको हो । उपमहानगरपालिकाले ५० बेड, नगरपालिकाले २५ बेड र गाउँपालिकाले १० वटा आईसोलेसन बेड अनिर्वाय बनाउने निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । जिल्लाका १६ वटा स्थानीय तहमा निर्माण गरिने ५० बेड भन्दा बढीको क्वारेन्टाईन तथा आईसोलेसन वार्डको सुरक्षा ब्यवस्था नेपाली सेना र सो भन्दा कम बेड भएको हकमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले गर्ने उनले जानकारी दिए । यस्तै कलैया अस्पतालमा उपचार गराई रहेका कोरोना संक्रमित बिरामीहरुलाई कलैया उपमहानगरपालिका–३ गंगापुर स्थित शैक्षिक तालिम केन्द्रको आईसोलेसन सारिने निर्णय भएको छ । पहिलादेखी गंगापुरमा ५० बेडको आईसोलेसन कक्ष तयारी अवस्थामा रहेको छ भने, महिलाहरुको लागि पनि ५० बेडको आईसोलेसन कक्ष कलैया उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिने तथा रामराजा बहुमुखी क्याम्पसमा तीन सय बेडको क्वारेन्टाईन बेड सञ्चालन गर्ने निर्णय भएको प्र.जि.अ. पण्डितले बताए ।