माधव नेपाललाई लालग़द्दार भन्दै रौतहटमा बिशाल प्रदर्शन

पवन यादव

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई लाल गद्दार भन्दै उनकै गृहजिल्ला रौतहटमा विशाल मोटरसाइकल र्‍यालीसहित जनप्रदर्शन भएको छ । शनिवार काठमाडौंमा माधव नेपाल निकट अखिल फोर्सले आयोजना गरेको मोटरसाइकल र्‍यालीको काउन्टर र्‍याली रौतहटमा निकालिएको हो । वेथितिका विरुद्ध लड्न र समाजवाद स्थापनाका लागि संघर्षका लागि नवगठित वामपन्थी संगठन आईटी आर्मीले माधव नेपाल लाल गद्दार रहेको भन्दै २५ हजारभन्दा बढी मोटरसाईकलसहित जनप्रदर्शन गरेको छ । दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रको मतले निर्वाचित भएर प्रतिक्रियावादीको चरणमा पुगेर देउवालाई प्रधानमन्त्री बनाएकोले उनलाई रौतहटमा लाल गद्दारको संज्ञा दिएर विरोध प्रदर्शन गरिएको हो । साथै देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउनु पनि आईटी आर्मीको मोटरसाइकल र्‍यालीको उद्देश्य रहेको छ । रौतहटको १८ वटै स्थानीय तहबाट हजारौँको संख्यामा युवाहरु कम्युनिष्ट पार्टीको झण्डा तथा आईटी आर्मीको झण्डा तथा फेटा बाधेर गरुडामा भेला भएका थिए । त्यहाँबाट बाल्चनपुर, जंगलसहिया, कटहरिया, दिपही, खेसरहिया हुँदै सुकदेव चौकमा आएर सभामा परिणत भई समापन गरेका थिए । मोटरसाइकल र्‍याली २५ हजारभन्दा बढी मोटरसाइकलसहित युवाहरुको सहभागिता राष्ट्रिय संयोजक चन्द्र भुषण साहले जानकारी दिए । र्‍यालीमा सहभागीहरुले ‘लाल गद्दार माधव नेपाल मुर्दावाद’ ‘माधव नेपाल लाल गद्दार’ ‘लाल गद्दार होसियार’ ‘भ्रष्टचारी होसियार, लुटआतङ्क बन्द गर’ जस्ता नारा लगाउदै जिल्ला परिक्रमा गरेका थिए । मोटरसाइकल र्‍यालीमा वामपन्थी नेताहरु उपेन्द्र साह, कुन्दन कुश्वाहा, राजकिशोर यादव, त्रिभुवन साह, चन्देश्वर बैठा, राजन यादव, प्रेमलाल साह, मुक्ति नारयण मिश्र, भागिस्वर यादवलगायत नेताहरुको समेत सहभागिता रहेको थियो ।