अवैध अस्पतालमा शिल

उत्तम कुमार उपाध्याय
रौतहट, १९ जेठ । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ बकुंल बजारमा अनुमति नलिई अवैध रुपले संचालित एक आयुर्वेद अस्पतालमा बुधवार स्थानीय प्रशासनले छापा मारेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको नेतृत्वमा रहेको अनुगमन टोलीले दर्ता अनुमति पत्र र उपचारमा संलग्न चिकित्सकको लाईसेन्स देखाउन नसकेको नक्कली अस्पताललाई शिल गरेको हो ।
ओपीडी सेवा समेत संचालन गर्दै आएको भवनमा अस्पतालको नाम उल्लेखित बोर्ड समेत नराखिएको र दर्ता अनुमति समेत फेला नपरेकोले अस्पताललाई शिल गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउनु भयो । अस्पतालमा कार्यरत चिकित्सकसंग पनि बिरामीको स्वास्थ्य परिक्षण, उपचार गर्ने अनुमति समेत नरहेको उहाले बताउनु भयो ।
लकडाउनको बेला बजारमा बढदो अखाद्य वस्तु विक्री वितरणलाई रोक्न बजार अगुमनको क्रममा अवैध अस्पतालबारे सुचना पाएर छापा मारिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।
अनुगमन टोलीमा राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय रौतहटका प्रमुख अनुसन्धान अधिकृत मुकुन्द खडका, जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा रामनरेश साह, प्रहरी चौकी बंकुलका प्रमुख प्रहरी सहायक निरिक्षक राजहरण यादव, सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बेस सरमुजवाका सशस्त्र प्रहरी सहायक निरिक्षक सुजय कुमार सिंह लगायतको सहभागिता थियो ।