हुलाकी सडक निर्माणले तिब्रता, तोकिएको अवधि भन्दा ८ महिना अघिनै पुरा हुँदै

बारा, ३ मंसिर । हुलाकी राजमार्ग आयोजना अन्तर्गत बारा जिल्लाको बरियारपुरदेखि बीरगंजको प्रतिमा चोकसम्मको सडक निर्माण तोकिएको अवधि भन्दा अगाडी नै सम्पन्न हुने भएको छ । स्थानीयको अवरोधका कारण एकआद स्थानमा बाहेक वीरगंजको प्रतिमा चोकदेखि बाराको बरियारपुरसम्म करीब २० किलोमीटर सडक अन्तर्गत अधिकांश खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ । हुलाकी सडकको सो खण्ड अन्तर्गत ७० प्रतिशत काम पुरा भइसकेको हुलाकी सडक परियोजना कार्यालय वीरगंजका प्रमुख दिपेन्द्र पाण्डे जानकारी दिनुभयो । सो सडकको निर्माण कार्य दैनिक तिब्र गतीमा भई रहेकाले करिब ३० प्रतिशतको कार्यमा सडकको साईडमा किलोमिटरको पिलर, ट्राफिक साईन बोर्ड, डेलिनेटर पोष्ट, बायो ईन्जिनियरिङ्गको काम लगायत बाँकी रहेको प्रमुख पाण्डेले बताउनुभयो । आयोजनाले सन् २०१७ जनवरीमा सो खण्डको ठेक्का लगाएको थियो । ३० महिना भित्र अर्थात ०७७ साल जेठ मसान्तभित्रमा काम पुरा गर्ने गरी स्वच्छन्द, समा र पप्पु कन्स्ट्रक्सनले संयुक्तरुपमा ८५ करोड रुपियाँमा ठेक्का लिएका छन् । यो सडकखण्ड निर्माणमा अवरोध नभएमा तोकिएको समयभन्दा करिब ८ महिना अघि नै पुरा हुने देखिएको छ । सडक निर्माण भएसँगै अब यस पाली पञ्चबर्षिय गढीमाई मेलामा सहभागी भक्तजनहरुले धुले सडकको सामना गर्नु नपर्ने भएको छ । सडकमा डेढ मिटर माटो पुरेर त्यसमाथि कालोपत्रेसहित ७० सेन्टिमिटरको सतह बनाइएको छ । ७ मिटर फराकिलो कालोपत्रे, ३ मिटर फुटपाथ र २ मिटरमा नाला निर्माण भएको समा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलमले बताउनु भयो । सो सडक खण्डमा एसियामै प्रसिद्ध धार्मिकस्थल गढीमाई स्थान समेत पर्दछ । बर्षौ देखी स्तरीय सडकको अभावमा भक्तजनलाई आवतजावतमा समस्या भई रहेको बेला हुलाकी सडकको स्तरोन्नति भएपछि गढीमाई मन्दिरमा आउने आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने स्थानीय बासिन्दाले बताएका छन् । गढीमाईको मेला प्रत्येक ५ बर्षमा मेला लाग्ने गर्दछ, यो बर्ष मंसिर महिनामा मेला लाग्ने तयारी तिब्रगतीमा भई रहेको गढीमाई संचालक तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह तेलीले बताउनुभयो ।