चार ठेकेदार कालो सूचीमा

काठमाण्डौं, १० मंसिर । सार्वजनिक खरिद अनुगमनको कार्यालयले तोकिएको समयमा काम नगर्ने ४ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद नियमावलीको दफा ६३ को उपदफा १ बमोजिम तोकिएको समयमा काम गर्ने र सम्झौतामा उल्लेख भएअनुसारको काम नगर्ने ठेकेदारलाई विभिन्न सार्वजनिक निकायको सिफारिसमा कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐनमा काममा ढिलाइ गर्ने या सम्झौताअनुसारको काम नगर्ने ठेकेदार कम्पनीलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राख्ने व्यवस्था छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयका अनुसार पोखरा महानगरपालिकाको सिफारिसमा श्री होराइजन विल्डर्स पोखरालाई एक वर्ष कालोसूचीमा राखिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको सिफारिसमा तिवारी मेडिसिन डिष्ट्रिब्युटर धनगढीलाई २ वर्ष कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । नेपाली सेनाको संग्राम शार्दुल गुल्म बझाङको सिफारिसमा श्रीकृष्ण कन्स्ट्रक्सनरत्याडी निर्माण सेवा जेभी बझाङलाई १ वर्ष कालो सूचीमा राखिएको छ भने सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयको सिफारिसमा श्री ओम श्रीओम इन्टरप्राइजेज मिनभवन काठमाण्डौलाई १ वर्ष कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालय ताहाचल काठमाण्डौले जनाएको छ ।