मकवानपुरका दुग्ध सहकारीले बुझाएनन् विवरण

हेटौंडा– मकवानपुरका दुग्ध उत्पादक सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरेको पाइएको छ । नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र गरहेकोमा मकवानपुरका दुग्ध उत्पादक सहकारीहरुले भने आयव्यय विवरण पेश गर्न आलटाल गरेका छन् । जसको कारण सहकारीहरुमा अनियमितताको आशंका बढेको छ ।

सहकारी विभागले गत २०७५ पौष मसान्त सम्म गाउँपालिका वा नगरपालिका कार्य क्षेत्र हुनेले सोही कार्यालयमा, जिल्लाभरी वा सो भन्दा बढी कार्य क्षेत्रहुनेले प्रदेश स्तरको निकायमा आयव्यय विवरण पेश गर्नु पर्ने नियम रहेको छ । तर मकवानपुरको गढी गाउँपालिकामा रहेका करीब १ दर्जन दुध सहकारीहरुले गाउँपालिकाले पटकपटक सूचना दिंदा समेत अटेर गरी आयव्यय विवरण पेश नगरेको गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले बताएका छन् ।

त्यतिमात्र होईन सहकारी विभागले अनिबार्य गरेको अनलाईन विवरण बुझाउन अनलाईन प्रविधिको युजर नेम लिन समेत आज सम्म कुनै दुध सहकारी पुगेकै छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारीसंघको सदस्य रहेको कुनैपनि सहकारीहरुको आयव्यय विवरण कुनैपनि निकायमा छैनन् भने, स्वयम् जिल्ला संघले प्रदेश मन्त्रालयको सहकारी महाशाखामा बुझाउनु पर्ने आफ्नो आयव्यय विवरण आजसम्म नबुझाएको पाइएको छ । त्यतिमात्र होईन जिल्ला संघको कुनैपनि कागजात प्रदेश मन्त्रालयमा नै नरहेको बताईएको छ । मन्त्रालयले जिल्ला संघको कागजात हेटौंडा उपमहानगरपालिकामा रहेको जानकारी दिएको थियो ।

तर हेटौंडा उपमहानगरपालिकामा बुझ्दा त्यहा पनि उसको कुनैपनि कागजात नरहेको, उपमहानगरपालिकालाई कुनै विवरण पेश पनि नगरेको र सहकारी विभागको अनलाईन विवरणको लागि केही पेश नगरेको जनाएको छ । यसबाट जिल्ला संघको कुनै कागजात कुनै पनि निकायमा नै नरहेको प्रमाणित भएको छ । उपमहानगरपालिकाले विवरण पेश गर्नका लागि पटक पटक सूचना प्रसारण गर्दा पनि सहकारीहरुले वास्ता नगरेको जनाएको छ । सहकारीहरुले विवरण पेश गर्न नसक्नु भनेको त्यहाँ अनियमितताको शंका रहने प्रदेश मन्त्रालयले बताएको छ । संघीय कानून अनुसार विवरण पेश नगर्ने सहकारीलाई रु ३ लाख सम्म जरिवाना गर्नूका साथै संस्था नै खारेज सम्मको नियम रहेको छ ।

प्रति लिटर सरदर ४७ रुपैयाँमा खरीद गरेको संकलित दुधलाई सहकारीहरुले स्थानीय व्यवसायीलाई त्यही दुध प्रतिलिटर ६७ रुपैयाँमा बिक्री गर्दछ । जिल्ला संघ र सहकारीबाट खरीद दुधलाई स्थानीय व्यवसायीहरुले भने खुल्ला प्रतिलिटर ७० देखि ७५ रुपैया प्रतिलिटरमा उपभोक्तालाई बिक्री गर्ने गरेका छन् । तर सरकारले प्रशोधित दुध मात्रै अधिकतम प्रतिलिटर ७० रुपैयामा बिक्री गर्न पाउने तर विना प्रशोधन बेच्न नै नपाउने निर्णय निर्देशिका लागू गरेको छ । यसरी प्रशोधन नगरिएका कच्चा दुध नै किसानले पाएको रकम भन्दा उपभोक्ताले करीब ४० प्रतिशत थप रकममा किनिरहेका छन् । मकवानपुरमा दैनिक ३० हजार लिटर दुध उत्पादन हुने गरेको छ ।

आयव्यय विवरण नबुझाएको सन्दर्भमा प्रतिक्रिया दिँदै जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीले पहिले आफूहरुले डिभिजन सहकारीलाई विववरण बुुझाउँदै आएकोमा नयाँ व्यवस्था लागू भएपछि सम्बन्धित स्थानीय तह र प्रदेशमा विवरण बुझाउनुपर्नेमा अब त्यसलाई व्यवस्थित गरिने बताए । व्यवस्था परिवर्तनपछि आफूहरुले विवरण नबुझाएको स्वीकार गर्दै अब भने नियम पालना गर्ने बताए ।
न्युज २४ टेलिभिजनको सहयोगमा