श्रीलंकामा हमलापछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता

काठमाडौं– कोलम्बोसहित श्रीलंकाका विभिन्न सहरमा भएको आतंकारी हमलापछि नेपाल प्रहरीले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ।
श्रीलंकामा ३५ विदेशी नागरिकसहित २ सय ९० जनाको ज्यान जानेगरी आइतबार भएको आत्मघाती आक्रमणपछि काठमाडौंको सुरक्षा ‘हाईअलर्ट’ गरिएको हो। महानगरीय प्रहरी कार्यालयले काठमाडौंका विदेशी पर्यटकको आगमन हुने क्षेत्र, होटल, धार्मिक र पुरातात्विक महत्वका सम्पदासहित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मजबुत बनाएको जनाएको हो।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान तथा कार्य विभागले समेत देशभर सुरक्षा प्रबन्ध मजबुत पार्न सातै प्रदेश प्रहरी प्रमुखसहित महानगरीय प्रहरी प्रमुख शैलेस थापा क्षेत्रीलाई निर्देशन दिएको छ।

श्रीलंकामा आक्रमणलगत्तै हामीले उपत्यकास्थित प्रहरी इकाइलाई अर्लट गराएका छौं,’ महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले भने, ‘विदेशी पर्यटकका गन्तब्य हितका स्थानको सुरक्षा प्रवन्ध मजबुत बनाएका छौं।’ उनले श्रीलंका आक्रमणपछि छिमेकी देश भएकाले नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने आँकलनका साथ सुरक्षा हाई अर्लट पारिएको जानकारी दिए।

‘उपत्यका पूर्ण सुरक्षित छ,’ डीआईजी क्षेत्रीले भने ‘त्यही पनि सुरक्षामा कुनै कमी नरहोस् भन्नका लागि सबै इकाईलाई सर्तकताका साथ परिचालन गरिएको हो।’ महानगरीय प्रहरी कार्यालयले आइतबारदेखि नै उपत्यकामा रहेका होटल तथा रेष्टुरेन्ट सञ्चालकसँगको समन्वय र सहकार्यमा क्लोज सर्किट क्यामरासहितका सुरक्षा प्रवन्धको चेकजाँच गरिरहेको हो।

पर्यटकको आगमन बढी हुने स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। विमानस्थल र हावाई मार्ग भएर उपत्यका भित्रने बाहिरीने यात्रु तथा उनीहरुको लगेजको चेकजाँचमा समेत कडा पारिएको छ। श्रीलंकामा आक्रमण गर्ने समूहको पहिचान भइसकेको छैन। आक्रमणको शैली र लक्षित समूह हेर्दा यसमा धार्मिक कट्टरपन्थी आतंककारी समूहको संलग्नता रहेको आशंका गरिएको छ। श्रीलंका प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा २४ भन्दा बढी संदिग्धहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।