देउवाकै गृहजिल्लामा प्रचण्ड–माधवलाई हानियो लात

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको छ । आज डडेल्धुराको जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारको सिफारिस गर्दै जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको हो ।
डडेल्धुराबाट प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रदेशसभातर्फ क मा कांग्रेस डडेल्धुरा सभापति भीम बहादुर साउद र ख मा प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराको सर्वसम्मत नाम सिफारिस गरिएको हो ।
कांग्रेस सहसचिव हेमराज चटौतका अनुसार बैठकले केन्द्रले गठबन्धन गर्न गरेको निर्णय स्वागत गर्दै हामीले जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको छ । ‘केन्द्रले गठबन्धन गर्न गरेको निर्णय स्वागत गर्दै हामीले जिल्लामा गठबन्धन नगर्ने भन्दै प्रदेश र केन्द्रलाई जानकारी गराउने निर्णय गरेका छौँ’ चटौतले भन्नुभयो, ‘यहाँ हामी एक्लै पनि जित्ने अवस्था छ ।’
स्थानीय तहको निर्वाचनमा पनि डडेल्धुरामा गठबन्धन भएको थिएन । सचिव चटौतले स्थानीय तहको जस्तै मित्रवत् प्रतिस्पर्धाको लागि माथिल्लो समितिमा जानकारी गराइएको बताउनु भयो ।  जिल्लाको प्रदेश सभाको ख मा नेकपा एकीकृत समाजवादीले डा। तारा जोशीलाई सिफारिस गरिसकेको छ । अघिल्लो पटकको प्रदेशसभामा नेकपा एमालेबाट उठेका उहाँ कांग्रेसका कर्ण मल्लसँग ३५६ मतले पराजित हुनुभएको थियो ।
प्रधानमन्त्रीकै गृह जिल्लामा गठबन्धन नगर्ने भन्दै निर्णय भएसँगै सत्ता गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँटको निर्णय अझै पेचिलो बन्ने देखिएको छ । यहाँ माओवादीबाट प्रदेश इन्चार्ज खगराज भट्ट पनि आकांक्षी हुनुहुन्छ ।सभार जनता टाइमस