हेटौंडा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत् मकवानपुरको हेटौंडा–३, बसामाडीमा सवारीलाई ओभटेक गर्ने क्रममा दुई वटा बस आपसमा ठोक्किँदा एकजना बस चालकको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् ।
आज शनिबार बिहान करिब ३ बजेको समयमा काठमाडौंबाट जनकपुरतर्फ जादै गरेको ना.७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं जादै गरेको ना.७ ख २०५७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किँदा ना.७ ख २०५७ नम्बरको बसको चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार आफ्नै साइडबाट गइरहेका बसका चालक साविकको उदयपुर वरही गाउपालिका–६ का ४० बर्षीयमान बहादुर मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।
अर्का बसको चालक भने फरार रहेका छन् ।
घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको र घाइते १२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन । बाकी घाइतेहरु सामान्य उपचारपछि घर फर्किसकेका छन् ।