मकवानपुरगढीमा ब्रेक फेल भएको ट्रकबाट हाम्फाल्दा मृत्यु

हेटौंडा– मकवानपुरको मकवानपुर गढी गाउँपालिका–२ शिखरकटेरीमा अलकत्रा बोकेको ट्रक ब्रेक फेल हुँदा ज्यान जोगाउन हामफालेका एक भारतीय नागरिकको मृत्यु भएको छ ।

सोमबार राती शिखरकटेरीबाट अलकत्रा बोकेर हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ क ६५७२ नम्बरको ट्रक ब्रेक फेल हुँदा सो ट्रकमा सवार भारत सिलगुडीका २५ वर्षीय राम भुईयाँ ज्यान जोगाउन हामफाल्दा गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा मंगलबार बिहान भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ब्रेक फेल भएको ट्रकलाई भने चालकले नियन्त्रणमा लिन सफल भएका थिए । ट्रक चालक फरार रहेका छन् भने ट्रकलाई प्रहरी चौकी चौघडाले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ