सिंहदरबारको ब्याकअप हेटौंडामा

हेटौंडा–प्राकृतिक विपत् तथा मानवीय त्रुटीका कारण मुलुकको महत्वपूर्ण तथ्य तथ्याङ्कहरु नष्ट नहोस् भन्ने हेतुले हेटौंडामा डिजास्टर रिकभरी सेन्टरको स्थापना गरिएको छ ।

हेटौंडाको हुप्रचौरमा सिंह दरबारमा रहेको डाटा सेन्टरको ब्याकअप तयार गरिएको हो । ३७ करोड रुपैयाँ लगातमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले डाटा सेन्टर तयार गरेको हो । हेटौंडा हुप्रचौरस्थित नगर विकासको १० कट्ठा जग्गा डाटा सेन्टरले ओगटेको छ ।

सो डाटा सेन्टर राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, ईप्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षर, ईकस्टमलगायत ईसेवा सञ्चालन हुने छन् । सेन्टरमा सिंहदरबारको डाटा राखेर परिक्षण समेत गरिसकिएको छ । अहिले चार जना कर्मचारीले काम पनि सुरु गरेका छन् ।

मंगलबार एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले डाटा सेन्टरको उद््घाटन गरेका हुन् । डाटा सेन्टरमा १९ जना कम्युटर इन्जिनियर लगायतका प्राबिधिक कर्मचारी छनौटको काम सकिएको र केहीदिनमा उनीहरुले काम सुरु गर्ने राष्ट्रिय सूचना प्रबिधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले जानकारी दिए ।

डाटा सेन्टर निर्माण गर्नका लागि पहिले नै तयारी भए पनि २०७२ सालको भुकम्पपछि यसको कामलाई बढी प्राथमिकता दिइएको थियो । सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरूको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्ने बताइएको छ । तीन वर्षअघि नेपालका तर्फबाट केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटा र दातृ निकाय कोइकाका प्रमुख योङ आ गोले सम्झौतापत्रमा हस्ताक्षर गरी भवन निर्माणलगायत प्राविधिक सामाग्री जडानको ठेक्का दिइएको थियो ।

सम्झौतापत्रमा इन्जिनियरहरूका लागि तालिमको व्यवस्था गरिने, संरचना निर्माणका लागि जग्गा नेपाल सरकारले उपलब्ध गराउने तथा जनशक्ति र कार्यालय राख्ने व्यवस्था मिलाउने लगायत छ । सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअप नहुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गतको सरकारी एकीकृत डाटा केन्द्र प्रभावकारी ढंगले सञ्चालनमा आउन नसकेको प्राविधिकहरूले बताएका छन् ।

डाटा सेन्टरलाई प्रभावकारी सञ्चालनका निम्ति ब्याकअप सेन्टर आवश्यक पर्ने भएपछि कोरियाको सहयोगमा हेटौंडामा डाटा सेन्टर निर्माण गरिएको हो । यस्ता साइटहरू मुख्य डाटा सेन्टर स्थापनाका लागि केन्द्रबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधारको सुविधा पुगेको स्थान आवश्यक पर्ने भएकाले हेटौँडालाई रोजिएको थियो ।
डिजास्टर रिकभरी सेन्टरको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मिडिया प्रति सरकारको कुनै दुस्मनी नरहेको स्पष्ट पारे । प्रेश स्वतन्त्र नभइकन लोकतन्त्र बलियो नहुने उनको भनाइ थियो । प्रेश स्वतन्त्रता माथि कहिँ हस्तक्षेप नभएको भन्दै बास्कोटाले सञ्चार जगतको विकासमा अझै सरकार जुटेको बताए । कार्यक्रममा प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रविधिको विकासमा सरकार प्रतिवद्ध भएको बताए ।