हेटौंडा– स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक र आमसञ्चार विधेयकमा भएको व्यवस्थाको विषयमा नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस युनियनले मंगलबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र पठाएको हो । सोही क्रममा प्रेस युनियन मकवानपुरले पनि मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मामार्फत राष्ट्रिय सभा अध्यक्ष र सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।
मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक, संसदमा बिचाराधिन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सुचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्ने बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक लगायत पाइपलाइनमा रहेका अन्य विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने, पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारितालाई लैजाने नियत रहेको देखिएको ज्ञापनपत्रमा उल्लेख छ ।
युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार, मध्यमाञ्चल संयोजक राममणि दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, प्रेस युनियन मकवानपुर सचिव केशव समर्पणलगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।
प्रेस काउन्सिललाई विस्थापित गरीे मिडिया काउन्सिल गठन गर्दे गर्दा यसको स्वायत्तता र स्वतन्त्र छविलाई समेत किनारा लगाउने प्रयास भएको ज्ञापनपत्रमा उल्लेख छ ।