मतदानबाट प्रदेश ३ को राजधानी टुङ्ग्याइने

हेटौंडा– ३ नम्बर प्रदेश सरकारले स्थायी राजधानीको विषय मतदानबाट टुङ्गो लाग्ने भएको छ । स्थायी राजधानी तोक्ने विषयमा तयार परिएको कार्यविधि मंगलबार साँझ बसेको प्रदेशसभामा पेश गरिएको हो ।

मंगलबार साँझ बसेको प्रदेशसभा बैठकमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले सदनमा पेश गरेको कार्यविधिलाई नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन गरेकी थिइन् । प्रदेशसभाले गठन गरेको राजधानी सम्भाव्यता अध्ययन समितिले तयार गरेको प्रतिवेदनको आधारमा कार्यविधि तयार गरिएको हो ।

समितिले सिफारिस गरेको स्थानहरुलाई वर्णानुक्रमअनुसार मतदान प्रक्रियामा लैजाने कार्यविधिमा उल्लेख गरिएको छ । सभामुखले कार्यविधिमाथि सैद्धान्तिक छलफल गरी मतदानका लागि आह्वान गर्नेछन् । प्रस्तावको पक्ष र विपक्षमा सांसदहरुले मतदान गर्नुपर्नेछ । वर्णानुक्रमअनुसार प्स्ताव गरिएका ५ वटा जिल्लामाथि पालैपालो मतदान हुनेछ । निर्वाचनको मिति घोषणा गर्ने जिम्मा सभामुखलाई दिइएको नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले जानकारी दिइन् । समितिको प्रतिवेदनअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरमाथि मतदान हुनेछ ।

जुन प्रस्तावले दुई तिहाई ल्याउँछ त्यो नै राजधानीको रुपमा घोषणा हुनेछ । वर्णानुक्रमअनुसार आउने पहिलो जिल्लामाथि मतदान हुँदा स्थायी राजधानीको लागि प्रष्ट दुई तिहाई मत आएमा बाँकी अन्य जिल्लामाथि मतदान नहुने कार्यविधिमा उल्लेख छ ।

नेपाली कांग्रेसले राजधानीको विषय संसदमा प्रवेश नगरुञ्जेल सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि कार्यविधि सदनमा पेश भएका हो । यो सँगै प्रदेशसभामा काँग्रेसको अवरोध पनि हटेको छ । राजधानीको विषयले प्रवेश नपाएसम्म काँग्रेसले प्रदेशसभा नै चल्न नदिने घोषणा गरेपछि सरकारले बाध्य भएर कार्यविधि ल्याएको हो । जेठ १ गते सरकारले आगामी आगामी आर्थिक वर्षको सिद्धान्त तथा प्राथमिकता पेश गर्नैपर्ने बाध्यात्मक व्यवस्था रहेकोले प्रदेशसभा सुचारु गर्न दबाब परेको हो ।