गणतन्त्र नेपालको भिभिआईपी संस्कृति, राष्ट्रपतिको उडानमा दुइसय उडान प्रभावित

काठमाडौं– राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् ।

राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलमा कुर्नुपर्‍यो । राष्ट्रपतिको सम्मानका नाममा उनको सवारी हुँदा सडक र विमानस्थल खाली गराउन थालेपछि गणतन्त्र नै बदनाम बन्न थालेको छ । शासन व्यवस्था फेरिए भने शासनशैली नफेरिएको भन्दै यसको व्यापक आलोचना हुँदै आएको छ । सवारीमा सामन्ती शैली अपनाएको भन्दै सर्वसाधारणले पटक–पटक आलोचना गर्दा पनि सरकारले यसमा सुधारको प्रयास गरेको छैन । यसकारण गणतन्त्रप्रति नै सर्वसाधारणको वितृष्णा बढेको छ ।

बुधबार त्रिभुवन विमानस्थले बिहान १०ः ३० देखि ११ः १० सम्म उडान तथा अवतरण वर्जित गरिएको नोटिस टु एयरमेन ९नोटाम० जारी गरेको थियो । तर, त्यस अवधिभित्र समेत राष्ट्रपतिको विमान उडेन, करिब १७ मिनेट ढिला भयो । ४० मिनेटका लागि जारी भएको नोटाममा फेरि २० मिनेट थप गरियो । यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियसम्मका उडान पूरै अवरुद्ध भए ।

एकातिर त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतका लागि विमानस्थलको सञ्चालन समय २१ घन्टाबाट घटाएर १४ घन्टा बनाइएपछि विमानस्थलमा चाप बढेको छ । त्यसैमाथि राष्ट्रपतिको उडानका लािग एक घन्टा सबै विमान रोकिएपछि बुधबार दिनभरिको उडान प्रभावित भए । त्रिभुवन विमानस्थलमा दैनिक औसत तीन सय उडान हुन्छन् । बुधबार १०स्३० पछि करिब ८० वटा अन्तर्राष्ट्रिय र एक सय २० आन्तरिक उडान प्रभावित भएका हुन् ।

सबै विमान उडानमा ढिलाइ
राष्ट्रपतिको उडान–तालिकाका कारण त्रिभुवन विमानस्थलमा बिहान १० बजेपछिका सबै उडान निर्धारित तालिकाभन्दा ढिला भए । अन्तर्राष्ट्रिय उडानतर्फ निर्धारित समयभन्दा १५ मिनेटदेखि एक घन्टाको ढिलाइ भयो भने आन्तरिकतर्फ अढाई घन्टासम्म ढिलाइ भयो । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले नोटाम लागू भइसकेपछिका सबै उडान पछि धकेलिएको बताए । बुधबारका लागि निर्धारित सबै उडान ढिला भए पनि राति १० बजेसम्ममा गराइसकिएको उनले बताए ।

विभिन्न विमानस्थलबाट काठमाडौं आउन खोज्ने र काठमाडौंबाट विभिन्न विमानस्थलमा यात्रा गर्न लागेका हजारौँ यात्रु प्रभावित भए । विराटनगरबाट काठमाडौं आएका यात्रु उदय पौडेलले निर्धारित समयभन्दा तीन घन्टा उडान ढिलो हुँदा धेरै अप्ठ्यारो परेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।