राक्सिराङमा यस्तो स्वास्थ्यचौकी : जहाँ औषधिसँगै बिरामीलाई बाँडिन्छ तरकारी


हेटौंडा– तपाई बिरामी भएर स्वास्थ्य चौकी पुग्नुभयो भने स्वास्थ्यकर्मीले केके दिन्छन् ? स्वास्थ्य जाँच गरी रोगअनुसारको औषधि, शरीरलाई आवश्यक खानेकुरालगायतका बारेमा आधारभूत ज्ञान पनि पाइएला । तर, मकवानपुरको एक विकट गाउँमा रहेको स्वास्थ्य चौकीमा त औषधि मात्र हैन अग्र्यानिक तरकारी तथा फलफूल पनि बिरामीलाई निशुल्क दिइन्छ । त्यो पनि स्वास्थ्यचौकीकै करेसाबारीमा फलाइएको ।

राक्सिराङ– २, कुडुले स्थित सरिखेत स्वास्थ्य चौकीले आफ्नै करेसाबारीमा अग्र्यानिक तरकारी फलाएर स्थानीयलाई पोषण शिक्षा प्रवद्र्धन गर्ने अभियान चलाइरहेको छ । सिजनअनुसारको तरकारी तथा फलफूल खानुपर्छ र त्यसको लागि आफ्नै करेसाबारीमा उत्पादन गर्न सकिन्छ भन्ने सन्देश दिन स्वास्थ्यचौकी आफैंले तरकारी तथा फलफूल फलाएर स्थानीयमा जनचेतना फैल्याइरहेको छ । ६ महिनाअघिदेखि सुरु गरिएको पोषण प्रवद्र्धन कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्यचौकीका अहेब यमप्रसाद गौतमले बताए ।

कुडुले स्थित सरिखेत स्वास्थ्य चौकी परिसरमा लगाइएको घिरौंला

‘हामीले तरकारी फलाएर बिरामीलाई बाँड्ने र उनीहरुलाई पनि घरमा करेसाबारी बनाउन सुझाव दिने गरेका छौं, हामीले तरकारी फलाएको देखेर धेरैले आफ्नो करेसाबारीमा तरकारी तथा फलफूल खेती गर्न थालेका छन्, हाम्रो अभियानले साकार रुप लिँदैछ ।’ अहेब गौतमले भने ।

अधिकांस बिपन्न चेपाङ र तामाङ बसोबास गर्ने यस क्षेत्रका मानिसहरु व्यवसायिक तरकारी तथा फलफूलको खेती त गर्दैनन् नै निर्वाहमुखी खेती समेत गर्दैनन् । करेसाबारी समेत छैन, बजारबाट तरकारी र फलफूल किनेर खाने आर्थिक अवस्था पनि छैन । पोषणको कमीले बिरामीको संख्या बढे पछि उनीहरुलाई तरकारी र फलफूल कम लगानी र सानै प्रयासले पनि उब्जाउन सकिन्छ भन्ने कुरा बुझाउन स्वास्थ्य चौकीले आफ्नै करेसाबारी बनाई तरकारी र फलफूल फलाएर देखाइएको स्वास्थ्य चौकीका अहेब गौतमले बताए ।

कुडुले स्थित सरिखेत स्वास्थ्य चौकी परिसरमा फलेको लोकल काँक्रो

स्वास्थ्यचौकीले व्यवस्थित रुपमा तारबार गरी घिरौला, करेला, गोलभेडा, काँक्रोलगायत तरकारी फलाइरहेको छ । फलफूलका बिरुवा पनि रोपिएका छन् । यस्तो किसिमको कार्यक्रमले पोषणस्तरमा बृद्दि गराई स्वस्थ समुदाय निर्माणमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष राजकुमार मल्लाको विश्वास छ । सानो सकारात्मक प्रयासबाट पनि ठूलो काम गर्न सकिने भन्दै उनले यो कार्यक्रमले कृषि क्षेत्रमा समेत प्रगति हुने भएकाले गाउँपालिकाले प्राथमिकतामा राखी थप बिस्तार गरिने अध्यक्ष मल्लले बताए ।

तस्बिरहरुः राक्सिराङ गाउँपालिकाको आधिकारिक वेबसाइटबाट