जीतपुरसिमरा उपमहानगरपालिकाको चौथो नगरसभा सम्पन्न
बारा, साउन २६ गते । विभिन्न वाद विवादका कारण समयभित्र हुन नसकेका जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा एक अर्ब ३७ करोड ९४ लाख रुपियाँ बजेट सार्वजनिक गर्दै सम्पन्न भएको छ । कोरोना भाईरसको महामारीकाबाट बच्न जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी नै निषेधाज्ञा जारी गरेका छन् । यता जीतपुरसिमरा उपमहानगरपालिकाले शुक्रवारदेखी जारी गरेका चौथो नगरसभा शनिवार राती अबेरसम्म सिमरामा सम्पन्न गरेको जनाएको हो । नगरसभामा उपप्रमुख सरस्वती देवी चौधरीले आर्थिक बर्ष २०७७÷०७८ को लागि एक अर्ब ३७ करोड ९४ लाख ४ हजार ८० रुपियाँ बराबरको बजेट तथा कार्यक्रमहरु प्रस्तुत गरेका हुन् । उपमहानगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को लागि आन्तरिक स्रोतबाट आय ४२ करोड ६२ लाख ८० हजार, राजश्व बाडफाडबाट १९ करोड ४९ लाख ८ हजार, अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत २९ करोड ८ लाख ५६ हजार, सशर्ततर्फ ४४ करोड ९४ लाख र अनुदानतर्फ १ करोड २५ लाख रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । यस्तै आर्थिक विकास क्षेत्रको कार्यक्रम सञ्चालनका लागि नगरस्तरमा तीन करोड ५० लाख, समाजिक विकासका लागि १० करोड ३८ लाख ८५ हजार, नगरस्तरीय योजना कार्यान्वयनको लागि १७ करोड ३३ लाख रुपैया, कोरोना महामारी नियन्त्रण र बिपत्त व्यवस्थापनको लागि ५ करोड रुपैया र सार्वजनिक सेवा प्रवाह तथा सुशासन क्षेत्रका लागि २ करोड २१ लाख रुपैया छुटयाईएको छ । उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद, प्रशासन शाखा प्रमुख रामेश्वर बञ्जारा, योजना शाखा प्रमुख रमेश सुवेदीसहित २४ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।