फुटबलको फाइनलमा भारतसँग नेपाल पराजित

काठमाण्डौ, २३मंसिर । आयोजक नेपाल, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३ औं सागमा पनि अधुरै रह्यो । सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन चाहन्थ्यो । तर पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो । उसका लागि दुबै गोल बालादेवीले गरिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् । त्यसपछि नेपाल खेलमा फर्कन सकेन र २–० हार व्यर्होयो ।