११ वर्षपछि बन्यो कुलेखानी तेस्रो, असारबाट नियमित विद्युत् उत्पादन हुने

हेटौंडा– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको छ । ४ वर्षभित्रै सक्ने लक्ष्यका साथ २०६४ सालबाट निर्माण सुरु भए पनि चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ११ वर्षपछि निर्माण सकिएको हो ।

निर्माणको काम सक्याएर आयोजनाले केहीदिनअघि मात्रै सुरुङ परीक्षण गरेको छ । कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर सफल परीक्षण गरिएकोे आयोजना प्रमुुख सुभाष मिश्रले जानकारी दिए । १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोले अब आगामी असारसम्ममा नियमित विद्युत् उत्पादन सुरु गर्ने मिश्रको दावी छ ।

विद्युत्गृहका टर्बाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरूको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन् । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ भएको हो ।

तीन पटकसम्म म्याद थप्दा पनि काम नभएपछि सन् २०१५ देखि उक्त कम्पनीको म्याद थपिएको छैन । सन् २०१४ सेप्टेम्बर, सन् २०१५ जुन र सन् २०१५ अक्टोबरमा उसको म्याद थप गरिएको थियो । पछिल्लोपटक थपिएको म्याद पनि गुजारेपछि उसबाट हर्जना पनि भराइरहिएको छ ।





विद्युत्गृह, सुरुङलगायतका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनिया“ कम्पनी सिनो हाइड्रोले एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको निर्माण प्रभावित भएको थियो । ।विद्युत्गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करिब ५ सय मिटर तार तान्ने काम सकिने आयोजना प्रमुख मिश्रले बताए ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानी खोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । आयोजना निर्माणमा ढिलाई भएसँगै लागत पनि झण्डै दोब्बरले बढेको छ । २ अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोमा काम लम्बिँदै जाँदा हालसम्म ४ अर्ब ६३ करोड खर्च भइसकेको आयोजनाका प्रमुख मिश्रले बताए ।