आमाबुबाको स्मृतिमा दाजूभाईले बनाए लाखौं खर्चिएर धर्मशाला

हेटौंडा– आमाबुवाको स्मृतिमा हेटौंडा–१७ का दुई दाजूभाईले साढे १३ लाख रुपैयाँ खर्चिएर धर्मशाला निर्माण गरेका छन् । बुवा यदुकुमार तथा आमा गुणकुमारी भट्टको सम्मानमा छोराहरु केशव र दीपकले धर्मशाला निर्माण गरिदिएका हुन् ।

हेटौंडा–१७ मा रहेको अंगारेश्वर मन्दिर परिसरमा धर्मशालाको निर्माण गरिएको छ । दुई कोठे धर्मशालाको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले धर्मशालाको उद्घाटन गरेका हुन् । अंगारेश्वर मन्दिर निर्माण समितिका अध्यक्ष तारा बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै मेयर महतले आमा बुबाको सम्झनामा धर्मशाला निर्माण गर्ने दाजुभाईलाई विशेष धन्यवाद व्यक्त गरे । ‘प्राचीन सम्भावना बोकेका मन्दिर रहेछ,’ मेयर महतले भने, ‘यसको विकास र विस्तारका लगि गुरुयोजना तयार पार्नुहोस् । आवश्यक सहयोग र समन्वयका लागि उपमहानगर तयार छ ।’

कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने केशव भट्टले स्वर्गीय हुनुभएका बुबाकै प्रेरणाले नै सामाजिक क्षेत्रमा क्रियाशील रहन मद्दत मिलेको बताए । ‘बुबा सहयोगी एवम् मिलनसार हुनुहुन्थ्यो,’ उनले भने, ‘सामाजिक क्षेत्रमा सहयोगी भूमिकामा सधै रहनुहुने बुबा हामीमाझ नरहनु भएपनि उहाँको सम्झनामा यो धर्मशाला निर्माणको लागि सहयोग गरेको हौं ।’

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य शंकर राई, मन्दिर व्यवस्थापना समितिका सल्लाहकार कमल बहादुर विष्ट, नवराज विष्ट, जिल्ला न्यायधिवक्ता हरि भट्टलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।