रौतहट, १ असोज । सशस्त्र प्रहरीले रौतहटको मौलापुर नगरपालिका ६ पथराबुद्धरामबाट ठुलो परिमाणमा विष्फोटक पदार्थ पटाखा बरामद गरेको छ ।
भारतबाट लुकाई छिपाई नेपाल भित्रियाईएको अवस्थामा बेवारिशे अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बेस सरमुजवाबाट सशस्त्र प्रहरी निरिक्षक भरत गौतमको कमाण्डमा खटिएको टोलीले उक्त पटाखा बरामद गरेको हो ।
बारा–रौतहटको सिमानामा पर्ने अडुवा नदी हुदै पथराबुद्धरामसम्म पटाखा लिएर पुगेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्ने पटाखा छाडेर फरार भएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरिक्षक सुर्यबहादुर सेन ओलीले जानकारी दिनु भयो ।
बरामद भएको पटाखा अन्दाजी करीब एक लाख ५० हजार रुपैयाँ मुल्य बराबरको रहेको र त्यसलाई सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बेस समुजवामै खाल्डोमा पुरेर नष्ट गरिएको उहाले जानकारी दिनु भयो ।
पटाखा तस्करीमा संलग्न रहेका बौद्धीमाई नगरपालिका वडा नम्बर ७ का गुड्डु भन्ने रहमजान र सोही ठाउकै अर्का तस्कर श्रीराम दास फरार भएका छन । उनीहरुको खोजतलाश भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको अप्र पोष्ट बसवरियाका सशस्त्र प्रहरी नायब निरिक्षक मोहन श्रेष्ठ र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बेस गोलागंजको मिलेमतोमा पछिल्लो समय बसवरिया नाकाबाट पटाखा, लताकपडा, भाडाकुडा, हार्डवेयरका सामान, किराना सामाग्री, सवारी साधनका पार्टपुर्जा लगायतका मालसामान तस्करी भईरहेको स्थानीयले बताएका छन ।